

केही समयको अबरोध र असहजता पछि विराटपथ फेरि तपाई माझ आएको छ। हामीले विराटपथलाई औपचारिक रुपमा सञ्चालनमा ल्याएका छौ। यो हाम्रो नयाँ यात्रा हो।
विराटनगरबासीका लागि यो नाम कुनै पुरानो वा नौलो होइन। विराटपथलाई तपाईले नजिकबाट नियालिरहनु भएकै छ। अनलाइन पोर्टल माझ नयाँ वा भिन्न हुने लक्ष्य हामीले लिएका छैनौ। हामी मात्र, सूचनाको पहुँचलाई तपाई माझ सहजै पुर्याउन डिजिटल प्रविधिको नविन प्रयासमा छौ। यस अर्थ विराटपथलाई तपाईले नजिकबाट नियाल्नु हुन्छ भन्ने अपेक्षा छ।
हामी एक झणको लागि भाइरल हुन वा ब्यक्ति प्रधान भएर आफू केन्द्रीत हुन सञ्चारकर्ममा जुटेका होइनौ। हामीले ब्यतित गरेको अनुभवले तपाईप्रति जिम्मेवार र जवाफदेही हुनु हाम्रो ब्यवसायिक धर्म हुनेछ।
अहिले सञ्चारमाध्यमको अबस्था अति नै संवेदशिल छ। आर्थिक रुपमा नीजि तवरबाट सञ्चारमाध्यम सञ्चालन गर्नु निक्कै कठिन र चुनौतीपूर्ण छ। झन आर्थिक अबस्थाका कारण यस्ता संस्थाहरु सञ्चालन गर्नु निक्कै जोखिमपूर्ण छ। तरपनि यो अबस्थालाई बुझ्दै हामीले आफूलाई तपाई माझ ल्याएका छौ।
थोरै समाचार, प्रभावकारी समाचारमा हाम्रो जोड रहनेछ। लहड र हावादारी बिषय भन्दापनि तथ्यगत बिषय हाम्रो आधार रहनेछ। पर्चाकारिता होइन पत्रकारिता हाम्रो मर्म रहनेछ। प्रभावित समाचारमा हाम्रो बिश्वास छैन। हामी प्रभावशाली समाचारलाई प्राथमिकतामा राख्नेछौ। हामीलाई चाडै लोकप्रिय हुनु छैन बरु हामीलाई बिश्वसनिय र प्रभावकारी हुनुछ। जुन हामीले तय गर्ने यात्राले प्रमाणित गर्नेछ।
हाम्रो यात्रा बृहत छ। पत्रकारिताको मर्ममा हामी आधात हुन दिने छैनौ । बरु यो पेशालाई गलत तवरले प्रयोग गर्नेहरुमाथि हामी निर्मम भएर लाग्नेछौ। हामी हरेक पेशा, ब्यवसाय, समाज र देशप्रति हामी जिम्मेवार भएर प्रस्तुत हुनेछौ।
हाम्रो मार्गमा सहयात्री भएर सदैव साथ, सुझाव र सहयोगको अपेक्षा गर्दछौ।