राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ। जिल्ला अध्यक्ष माधव आचार्यविरुद्ध रुष्ट रहेको कार्यसमितिले मंगलबार विराटनगरस्थित पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।
आज दिउँसो पार्टी कार्यालय पुगेको कार्यसमितिका केही सदस्यसहितको कार्यकर्ताको समूहले तालाबन्दी गरेको हो। अध्यक्ष आचार्यले कार्यालयमा लगाएको ताल्चामाथि कार्यकर्ताले अर्को एउटा ताला थपेका हुन्।
गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनभन्दा अगाडिदेखि नै अध्यक्ष आचार्यसँग कार्यसमिति रुष्ट छ। पटक-पटक सचेत गराउँदा पनि अध्यक्ष नसुध्रिएपछि आफूहरू पार्टी कार्यालयमा ताला लगाउन बाध्य भएको कार्यसमितिका एक सदस्यले बताए।
अध्यक्ष आचार्यमाथि पार्टी स्थापना दिवसका दिन पार्टी कार्यालय बन्द गरेर घुम्न गएको, केन्द्रीय महामन्त्रीलगायत पदाधिकारी आउँदा पदीय मर्यादा नाघेर अपमानित रूपमा भाषण दिएको आरोप छ।
त्यसबाहेक जिल्लामा रहेका केन्द्रका महामन्त्रीलगायत केन्द्रीय पदाधिकारी, सदस्य तथा पूर्वकेन्द्रीय पदाधिकारीहरूविरुद्ध सार्वजनिक स्थानमा पदीय मर्यादा नाघेर अपमानित रूपमा बोल्ने गरेको पनि आचार्यमाथि आरोप छ।
‘महेन्द्र मोरङ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि पार्टीका उम्मेदवार खडा गर्ने विषयमा चासो दिनुभएन,’ उनले भने, ‘उहाँ स्वेच्छाचारी ढंगले चल्ने गर्नुभएको छ। पार्टीको विधानविपरीतका कार्यसमितिसँग छलफल गरेर एक्लौटी रूपमा निर्णय लिनुहुन्छ।’