कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सवार गाडी तोडफोडको प्रयास गरिएको छ। चैत्र जिल्लाका बिभिन्न योजनाहरुको उद्घाटन र शिलान्यास गर्न आइतबार मुख्यमन्त्री कार्की पहाडी जिल्ला ओखलढुंगा पुगेका थिए। प्रदेशको नाम खारेज हुनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका आन्दोलनकारीले सोमबार सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जयाङ चोकमा मुख्यमन्त्री सवार गाडी तोडफोडको प्रयास गरेका थिए।
आन्दोलनकारीले मुख्यमन्त्री सवार गाडीमा राखिएको नेपालको झण्डा समेत निकालेर फालिदिएका थिए। कार्कीलाई कालो झण्डा देखाउँदै आन्दोलनकारीले बिहानै देखि सिद्धिचरण राजमार्गमा टायर बालेर चक्काजाम गरेका थिए। पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो।
कडा सुरक्षाकावीच ओखलढुंगा सदरमुकामबाट सिद्धिचरण नगरपालिका १ तलुवामा सामुदायिक भवनको उद्घाटन गर्न मुख्यमन्त्री कार्की जाँदै थिए। मुख्यमन्त्री विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीले कालोझण्डा समेत देखाएका थिए। सो क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीवीच केही समय झडप समेत भएको थियो।