विराटनगर । देशभर निर्वाचनको सरगर्मी बढिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश दौडहामा छन् । गठबन्धनको आमसभालाई सम्बोधन गर्ने कार्यक्रममा उनी अहिले पश्चिम नेपालमा छन् ।
यता प्रचण्डका ज्वाँई भने मतदातासँग भोट माग्दै मोरङको बुढीगंगा गाँउपालिकामा ब्यस्त छन् । प्रचण्डका छोरी ज्वाँई जीवन आचार्य केही दिनदेखि चुनावी घरदैलोमा ब्यस्त छन् । सोमबार उनी माओवादी केन्द्रले आयोजना गरेको घरदैलोमा बुढीगंगाको गकुवामा ब्यस्त भए । जीवन प्रचण्ड पुत्री गंगा दाहालका पति हुन ।
बुढीगंगामा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) बीचमा चुनावी तालमेल छ । माओवादी केन्द्रले अध्यक्ष पदमा युवा उम्मेदवार ईश्वरीप्रसाद आचार्यलाई उठाएको छ । बुढीगंगाको माओवादी केन्द्रको निर्वाचन कमाण्डर समेत रहेका जीवन आचार्य सोमबार दिनभर भोट माग्न ब्यस्त थिए । उनीसँगै अन्य उम्मेदवारहरु पनि घरदैलोमा सहभागी थिए । जीवन केही दिन अघि मात्र चितवनको चुनावी कार्यक्रम सकेर बुढीगंगा आएका हुन ।
सो गाँउपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले एकल रुपमा आफ्ना उम्मेदवार उठाएका छन् । दुबै दलले अन्य दलसँग चुनावी तालमेल गरेका छैनन् ।
जीवनको बुढीगंगा राजनीतिक क्षेत्र हो । सोही क्षेत्रबाट उनी प्रदेशसभा सदस्यका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । उनी कांग्रेसका चुमनारायण तवदारसँग झिनो मतान्तरले पराजित भएका थिए ।