विराटनगर । विराटनगर ९ भानुटोल निवासी पुष्पराज देउजा लामो समय अस्वस्थ भए । उनी राजनीतिसँगै समाजसेवामा सक्रिय थिए । ४२ बर्षिय पुष्पराजको केही बर्ष पहिले मृगौलामा समस्या आयो । मृर्गाैलाले काम गर्न छाडेपछि उनी बिरामी परे ।
एक छोरा र छोरीसहित सामान्य जीवन बिताइरहेका पुष्पराजलाई २०७२ सालमा श्रीमति रुपाले आफ्नो मृगौला दान गरिन् । श्रीमानको जीवनरक्षामा रुपाले गरेको त्यो कार्य उदाहरणीय थियो । मृगौला प्रत्यारोपण पश्चात उनी पूर्ववत् अबस्थामा फर्किए । स्वास्थ्यमा सुधार भएपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुदै आएका थिए ।
नेपाली कांग्रेस विराटनगर वडा नम्बर ९ को सचिव रहेका पुष्पराज करिब ५ हप्ता अघि यस संसारबाट बिदा लिए । मर्निङवाकमा गएको बेला २०७८ चैत्र १८ गते उनी सवारी दुर्घटनामा परे । सवारी दुर्घटनाका कारण उनको ज्यान गयो ।
अहिले स्थानीय तहको निर्वाचनमा उनै पुष्पराजको ३६ बर्षिया श्रीमति रुपालाई कांग्रेसले वडाबाट महिला सदस्यको उम्मेदवार बनाएको छ । पति बियोगको पीडालाई थाती राख्दै रुपा अहिले चुनावी प्रचारमा छन् । विराटपथसँग उनले भनिन्, ‘पार्टीले मेरो पीडामा थोरै भएपनि मलहम लगाएको छ । पतिले गरेको कामको मूल्यांकन गरेको छ । यो बिश्वासलाई पुरा गर्ने मन छ ।’