बुढीगंगा गाँउपालिका : अप्रत्यासित नतिजा ल्याउने दाउमा माओवादी केन्द्र

Logo
बुधबार, बैशाख २१, २०७९

विराटनगर । विराटनगरको छिमेकी गाँउपालिका बुढीगंगामा चुनावी सरगर्मी अरु स्थानहरुको जत्तिकै छ । उम्मेदवारहरु घरदैलोमा छन् । निर्वाचनको माहौलले गाँउ तातेको छ । बुढीगंगाको चुनावी रौनक अन्य क्षेत्र भन्दा पेचिलो छ ।
शिर्ष नेताको साखको लडाई बनेको छ, बुढीगंगामा स्थानीय तहको निर्वाचन । बुढीगंगामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना उम्मेदवार खडा गरेका छन् । गठबन्धनका दलमध्ये माओवादी केन्द्र र नेकपा(एकृकित समाजवादी)ले चुनावी तालमेल गरेका छन् । कांग्रेस र एमाले एक्लै निर्वाचनमा लडेका छन् ।
कांग्रेस नेता डा.शेखर कोइराला, बिजयकुमार गच्छदार, एमाले नेता लालबाबु पण्डित र माओवादी केन्द्रका नेता जीवन आचार्यको क्षेत्रमा पर्ने बुढीगंगामा तीन जना नेताको आफ्नै प्रभाव छ । उनीहरुले सो गाँउपालिकाको निर्वाचनलाई आफ्नो प्रतिष्ठाको लडाई बनाएका छन् । बलिया संगठन भएको कांग्रेसले गठबन्धनका कुनै दलसँग तालमेल गर्न जरुरी ठानेन्, एमाले एक्लै चुनाव लड्यो । माओवादी भने आफ्नो हैसियत देखाउन चुनावी मैदानमा छ ।
माओवादीले बुढीगंगामा अध्यक्षमा ईश्वरीप्रसाद आचार्यलाई उठाएको छ । जसको मोर्चा सम्हालेका छन्, जीवन आचार्यले । आचार्य पुष्पकमल दाहाल प्रचण्डका ज्वाँई पनि हुन । यसअर्थ केन्द्रले समेत बुढीगंगाको निर्वाचनलाई नजिकबाट नियालिरहेको छ ।
बिद्यार्थी राजनीतिबाट आएका युवानेता ईश्वरी पछिल्लो समय आफ्नो गाँउपालिकामा माओवादीको हैसियत फेरिएको बताउँछन् । ‘हामीले चुनाव जित्दैछौ ।’ घरदैलो अभियानमा भेटिएका ईश्वरीले विराटपथसँग भने, ‘हाम्रो वडा तहदेखि संगठन छ । प्रतिबद्ध कार्यकर्ता छन् । कार्यकर्तामा उत्साह मात्र होइन, चुनाव जित्नुपर्छ भन्ने भावना छ ।’
४० बर्षिय ईश्वरी राजनीतिमा २०५८ सालबाट हो । जबदेखि उनी राजनीतिमा लागे, त्यहिबेलाबाट उनी सक्रिय राजनीतिमा सरिक भए । बिद्यार्थी राजनीतिबाट होमिएका उनी माओवादीको भातृ संगठन वाईसिएलको प्रदेश १ को सह संयोजक छन् । उनी पार्टीको समेत प्रदेश कमिटि सदस्य छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा बुढीगंगामा माओवादीको स्थान कमजोर थियो । माओवादीका उम्मेदवारले सो निर्वाचनमा करिब २ हजार मत मात्र ल्याएका थिए । ‘हामीले निर्वाचनमा पराजय भोगेदेखि नै संगठन बिस्तारमा ध्यान दियौ । अहिले त्यो अबस्था छैन । हाम्रा प्राय सबै उम्मेदवार युवा छन् ।’ ईश्वरीले भने, ‘निर्वाचनको परिणामा आउन दिनुस् । हामी अप्रत्यासित नतिजा ल्याउँछौ ।’
बुढीगंगा एकृकित समाजवादीको समेत राम्रो पकड भएको गाँउपालिका हो । एकृकित समाजवादीले उपाध्यक्षमा माधवकाजी घिमिरेलाई उम्मेदवार बनाएको छ । समाजवादीका नेता कासिम मियाँको समेत त्यहाँ राम्रो प्रभाव रहेको छ । मियाँले वडाध्यक्षमा पुन उम्मेदवारी दिएका छन् । ‘एकृकित समाजवादीको आफ्नै संगठन होला । हाम्रो मात्र १२ सय संगठित सदस्य छन् ।’ ईश्वरीले भने ।
बुवा कै पालामा खोटाङबाट बसाई सरेर आएको आचार्यको परिवार थारुहरुको बाहुल्यता भएकै क्षेत्रमा रम्यो । ईश्वरीले डंग्राहा कै बिद्यालयमा निम्न माध्यमिक तहको अध्ययन पुरा गरे । माध्यमिक तहको पढाई भने दुहबीमा पुरा गरे । ‘थारु समुदायमा हुर्के, यही खेले, अहिले यही स्थानको विकासका लागि उम्मेदवार भएको छु ।’ उनको भनाई थियो, ‘विकासका लागि जातियताको सवाल आउँदैन, मलाई सबै समूदायले माया गर्छ । यहाँका जनतालाई राम्रोसँग थाहा छ, ईश्वरी को हो भन्ने । यही माया सबैको छ ।’

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]