विराटनगर । जनता समाजवादी पार्टी (जसपा)को साधारण सदस्यबाट राजीनामा दिएर विराटनगरको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवार बनेका पार्टीले गरेको कारबाहीको केही अर्थ नभएको बताएका छन् ।
स्वतन्त्र उम्मेदवार यादवले बुधबार प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए । सो क्रममा बोल्दै उनले पार्टीबाट राजीनामा दिएर चुनावी मैदानमा हिडिसकेपछि अहिले आएर कारबाही गरेको भन्दै हिड्नु भ्रम छर्नु मात्र रहेको बताए ।
‘नव राजाहरुले छोराछोरीलाई नव राजकुमार / राजकुमारी बनाउन खोज । तर म जनतासँग गठबन्ध बनाउन निर्वाचनमा होमिए ।’ यादवले पत्रकारहरुसँग भने, ‘हिजो मैले प्राविधिक रुपमा निर्वाचन हारे, त्यो हारलाई स्वीकार्दै म जनता माझ मै रहे । अहिले म फेरि म निर्वाचन मार्फत जनता माझ छु ।’ यादवले आफ्नो उम्मेदवारी नातावाद बिरुद्ध रहेको समेत बताए ।
८० बुँदे आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै उनले आफ्नो जीतको आधार जनता भएको बताए । स्वतन्त्ररुपमा खडा भएका अन्य उम्मेदवारसँग समेत तालमेल भइरहेका जनाउँदै यादवले विराटनगरको पूर्वाधार, स्वास्थ्य क्षेत्र, शिक्षा, यातायात ब्यवस्थापन, फोहर तथा प्रदुषण नियन्त्रण लगायतका बिषयमा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका थिए ।
यादवले खानेपानी, कृषि, खेलकुद, संस्कृति र सम्पदा, शहरको सौन्दर्यकरण, सेवा प्रवाह, रोजगारी र सुशासनसँग सम्बन्धि प्रतिबद्धता सार्वजनिक गर्दै सहयोगका लागि सबैमा अपिल गरे । २०७४ को स्थानीय तहको निर्वाचनमा उनी फोरमबाट उम्मेदवार बनेका थिए । उनले १४ हजार ९५८ मत ल्याएका थिए । सो निर्वाचनमा उनको करिब ११ हजार मत बदर भएको थियो ।