सुनसरी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरीमा गठबन्धनले २५ संकल्प पत्र सार्वजनिक गरेको छ ।
आइतबार इटहरीको लायन्स क्लबमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका उम्मेदवारहरूले २५ संकल्प सार्वजनिक गरिएको हो ।
जसमध्ये सुशासन र पारदर्शितालाई प्रमुख मुद्दाको रूपमा प्राथमिकता दिइएको छ । यस्तै, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, डुबानको समस्या समाधान, सहरी सौन्दर्यीकरण कृषि, भाषा संस्कृतिको संरक्षण, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै, निःशुल्क सेवाको सुरुआतलाई पनि प्राथमिकतामा राखिएको छ । जसअन्तर्गत इटहरीमा सबै ठाउँमा खानेपानी आपूर्तिको व्यवस्था गरिने, एक हजार स्क्वायर फिटसम्मको आवासीय क्षेत्रको घर नक्सापास निःशुल्क पास हुने बुझिएको छ । यस्तै, इटहरीको मुख्य बजार क्षेत्रमा स्मार्ट पार्किङको व्यवस्था गरिने संकल्प पत्रमा उल्लेख छ । संकल्प पत्र अनुसार विद्ध्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसनको प्रबन्ध गरिनेछ ।
औद्योगिक विकास, सामाजिक विकास, महिला तथा बालबालिकाका लागि विशेष कार्यक्रम, कला साहित्य, खेलकुद, पर्यटनको विकासका निम्ति विशेष कार्यक्रम ल्याइने बताइयो । त्यसैगरि राजस्व अभिवृद्धि र कर नीति अन्तर्गत करको दरमा पुनरावलोकन गरिने संकल्प पत्रमा उल्लेख छ । जसमा करको दायरा बढाउने र दर घटाउने नीति अवलम्बन गरिनेछ ।
सहकारी क्षेत्र, सुकुम्बासी तथा भूमिहीन, विपद व्यवस्थापन, सूचना तथा सन्चार, शान्ति सुरक्षा र आय श्रोतमा वृद्धि दिलाउन मुख्य भूमिका निर्वाह गरिने संकल्प पत्रमा उल्लेख गरिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरीमा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्ट उम्मेदवार छन् ।