

विराटनगर । मास्क र सेनिटाईजर कालोबजारी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंका बिभिन्न स्थानबाट ११ हजार ४ सय ५५ थान मास्क र १ हजार ५ सय ५ बोतल सेनिटाईजर सहित पक्राउ गरेको हो । प्रहरीले सेनिटाईजर खरिद बिक्रीको बिलहरु समेत फेला पारेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा घर भई हाल काठमाडौं महानगरपालिका –२४ बस्ने ३५ वर्षीय रुपेश रौनियार, नुवाकोट शिवपुरी घर भई हाल काठमाडौं टोखा नगरपालिका –१० बस्ने २५ वर्षीय पुरुषोत्तम अधिकारी र अर्घाखाँची भूमिकास्थान घर भई हाल काठमाडौं गौरीघाट बस्ने ३० वर्षीया मिना घिमिरे रहेका छन् ।
पक्राउ परेका रुपेश रौनियारको साथबाट१५ सय बोतल सेनिटाईजर, खरिद बिक्री गरेको २ थान बिल, त्यसैगरि पुरुषोत्तम अधिकारीको साथबाट ५ बोतल सेनिटाईजर,२ थान बिल प्याड र २ सय ३५ थान मास्क तथा मिना घिमिरेको साथबाट ११ हजार २ सय २० थान मास्क बरामद भएको हो ।
अहिले बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस प्रकोपबाट बच्न अनिवार्य मास्क, सेनिटाईजर जस्ता सामानको प्रयोग गर्नु प्रचारप्रसार भईरहेको छ । यो अबस्थामा काठमाडौं उपत्यकाभित्र सहज रुपमा पाईने मास्क, सेनिटाईजर जस्ता सामानहरु उत्पादन गर्ने उद्योग, व्यवसायीहरुले कृत्रिम अभाव गराई मुल्य वृद्धि गराएर अनुचिन नाफा लिई विक्री वितरण गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाख टेकुले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई कालोबजारी तथा अन्य केही सामाजिक अपराध कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।