विराटनगर । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सिंहलाई प्रहरी अत्तिरिक्त महानिरीक्षकबाट महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
आईजीपीका लागि एआईजीहरु विश्वराज पोखरेल र सहकुलबहादुर थापासमेत बलियो दावेदार थिए । गृहमन्त्री बालकृष्ण खाँण भने वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा थिए । केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेको थियो । तर बालुवाटारले भने सिंह कै पक्षमा अडान लिएपछि पोखरेल र थापा आईजीपी हुनुबाट रोकिएका थिए ।
सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि दुई सिनियर एआईजीले अदालत जाने तयारी गरेका छन् । एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका स्रोतले बतायो । पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए