News flash

विराटपथ

शनिबार, बैशाख १७, २०७९

सुनसरी । शुक्रबार राति ११ बजेतिर एकनाशले हावाहुरी चलिरहेको थियो । पूर्व पश्चिम राजमार्गमा रफ्तारमा सवारीका साधान हुईकिदै थिए । चट्टयाङको क्षणिक आवाजले भारी बर्षाको संकेत गर्दै थियो । मौसम एकाएक परिवर्तन भएको थियो । राजमार्गको सुनसरीस्थित भोक्राहा र लौकहीको बीचमा सवारी साधानको हुलबाट एक सवारी साधान राजमार्ग छोडेर उत्तरतर्फ हानियो ।
गहुँ काटेर खाली बनेको जमीन हुँदै प्रदेश १ – ०२- ००२ – ८६१४ नम्बरको ट्रक भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित धमैकाँटाको छेउ हुँदै उत्तरतर्फको मैकबाली लाग्यो । हेर्दा खाली जस्तो लाग्ने सो ट्रक राजमार्ग भन्दा करिब आधा किलोमिटर पर गएर बाँसघारीमा रोकियो । सो ट्रक आउने, ट्रकमा गाँजाको ओसारपसार भैरहेको भन्ने पूर्व सूचना पाएको सशस्त्र प्रहरीले आफ्नो टोलीलाई परिचालन गरिसकेको थियो ।
सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाई आफैले नेतृत्व गरेर ९ जनाको टोली बनाई राजमार्गमा तैनाथ थिए । जब ट्रकले राजमार्ग छोड्यो, सशस्त्र प्रहरीको टोली ट्रकलाई पछ्याउँदै बाँसघारीसम्म पुगे । सशस्त्रको टोलीले घटनास्थलबाट ट्रकका चालक धनकुटा सहिदभुमि ४ का ३६ बर्षिय हेमप्रसाद राईलाई नियन्त्रणमा लियो । त्यहाँ अरु कोही फेला परेनन् । तर नियन्त्रण लिइएको ट्रकबाट अनलोड गर्न लागेको अबस्थामा ६ वटा पोकामा बिक्रीका लागि तयार गरिएको लागुपदार्थ गाँजा बरामद भयो । जसको तौल एकसय ४८ केजी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
‘हामीले ट्रक, ट्रक चालक र गाँजा बरामद गर्यौ । त्यहाँ अरु कोही थिएनन् । यो सूचना ट्रक चालकबाट नै कारोबारीसम्म पुग्यो ।’ सशस्त्र प्रहरी उपरीक्षक हुमागाईले विराटपथसँग भने, ‘त्यसपछि गाँजा कारोबार हाम्रो सम्पर्कमा आए । उनीहरु हामीलाई पैसाको प्रलोभन दिएर ट्रक, ट्रक चालकलाई छुटाउन चाहान्थे, हामी यही आधारमा उनीहरुलाई नियन्त्रणमा लिन चहान्थ्यौ ।’
मोवाइलबाटै गाँजा कारोबारी र सशस्त्र प्रहरीको टोलीबीच आर्थिक लेनदेन भएको थियो । कारोबारी आफ्नो अनुकुल हुने भएको ठानेर धनकुटाबाट मोटरसाइकलमा सुनसरी तर्फ लागे । ‘उनीहरु आर्थिक लेनदेनबाट कुरा मिल्ने सोचेर धनकुटाबाट आए । तर हामीले उनीहरुलाई पक्राउ गर्यौ । प्रहरीले आर्थिक लेनदेनमा घटनालाई ढोकछेप गर्छ भन्ने गलत उदाहरणको नमूना पनि हो, यो ।’ सशस्त्र प्रहरी उपरीक्षक हुमागाईको भनाई थियो, ‘हामी जुन उद्धेश्यका लागि खटिएका थियौ । त्यो उद्धेश्य पुरा गरेर छाड्यौ ।’
आर्थिक प्रलोभनमा पारेर सशस्त्र प्रहरीको पन्जाबाट उम्कन सकिने आशाका साथ धनकुटाका सहिदभूमिबाट गाँजा कारोबारी ३५ बर्षिय आशिष राई र ३६ बर्षिय हिक्मत राई रातारात भोक्राहा आईपुगेका थिए । सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई घटनास्थल भन्दा करिब ४ किलोमिटर उत्तरतर्फबाट पाँचलाख ५० हजार नगदसहित बिहान करिब ३ बजे पक्राउ गरेको थियो । सशस्त्रको टोलीले उनीहरुले प्रयोग गरेको को ४० प २२११ नम्बरको पल्सर मोटरसाइकल र मोवाइल समेत बरामद गरेको छ । सशस्त्र प्रहरीले पक्राउ परेकाहरु, सवारी साधान, नगद र गाँजालाई शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ ।
धनकुटादेखि भारतसम्म
नेपालमा भन्दा भारतमा प्रतिबन्धित गाँजाको मूल्य अधिक पाइने हुनालाई नेपालमा ब्यवसायिक गाँजाको खेती हुने गरेको छ । प्रहरीले यस भन्दा पहिले पनि पटक पटक भारी परिणाममा गाँजा बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी उपरीक्षक हुमागाई गाँजा तस्करीको ठूलो नेटवर्क रहेको बताउँदै यसलाई तोड्न जरुरी रहेको बताउँछन् । उनी यस कार्यमा पहाडी क्षेत्रमा सक्रियता बढ्दै गएको उल्लेख गर्छन ।
पछिल्लो समय धनकुटाको सहिदभूमिबाट धेरै संख्यामा गाँजा कारोबारी पक्राउ पर्दै आएका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल