

विराटनगर । केन्द्रीय तहका नेताहरुलाई एकै ठाँउमा राखेर नेपाली कांग्रेस विराटनगर नगर समितिले शुक्रबार विराटनगरको संकल्पपत्र सार्वजनिक गरेको छ । एकताको सन्देश दिने प्रयास स्वरुप आयोजना गरिएको सो कार्यक्रममा नेता महेश आचार्य, केन्द्रीय सदस्य डा.डिला संग्रौला, विराटनगरका निवर्तमान मेयर भीम पराजुली लगायतको उपस्थिति रहेको थियो ।
आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भ पारेर तयार गरिएको संकल्पपत्रमा विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत प्रयोग गर्ने उपभोक्ताको बिजुलीको महशुल निशुल्क गर्ने लगायतका योजनाहरु अघि सारिएको थियो । स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार नागेश कोइरालाले आफूहरु बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादका अनुयायी भएकोले त्यही सपना साकार पार्न निम्न आय भएका नागरिकको समस्या सम्बोधन गर्ने प्रकारका कार्यक्रम घोषणा गरिएको बताए ।
संकल्पपत्रमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य वीमाको प्रबन्ध गरिने एंव निर्वाचित भएपछि महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सुविधा सेवा सामाजिक कार्यमा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।
मेयरका प्रत्यासी कोइरालाले आफ्नो पार्टी विजयी भएमा विराटनगर महानगरपालिकामा भूमिगत पार्किङसहितको दुई हजार पाँचसय क्षमताको सुविधा सम्पन्न सभागृहको निर्माण गर्ने अर्को महत्वाकांक्षी घोषणा गरे ।
‘आज हरेक राजनीतिक पार्टी, भातृ संगठन तथा विभिन्न सङ्घसंस्थाहरू आफ्नो महाधिवेशन गर्ने उपयुक्त स्थान पाइरहेका छैनन्’, उनको भनाइ थियो, ‘राजनीतिक चेतनाको उद्भवस्थल विराटनगरलाई महाधिवेशनको केन्द्र बनाउने हो भने यहाँको महत्त्व र आकर्षण अझ बढ्नेछ ।’
संकल्पपत्रमा अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पु¥याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने उल्लेख गरिएको छ ।
साथै सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड ब्याङ्क स्थापना गर्ने बताइएको छ ।
जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने एंव तारे होटल र कम्तीमा १ सय जनालाई रोजगारी दिने सपिङ कम्प्लेक्स, मल वा डिपार्टमेन्टल स्टोरलाई कम्तीमा ५ वर्ष महानगरपालिकाले लिने राजस्वमा ५० प्रतिशत छुट गर्ने कोइरालाले घोषणा गरे ।
उनले आफ्नो दल विजयी भएमा विराटनगरमा एक औद्योगिक र राजनीतिक सङ्ग्रहालयको निर्माण गर्ने स्पष्ट पारे ।
‘बिजुली, टेलिफोन, इन्टरनेट लगायतका तारका सन्जाललाई भूमिगत गर्न सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गरिनेछ’, संकल्पपत्रमा भनिएको छ, ‘रोजगारी र निर्यात वृद्धि गर्ने उद्योग तथा व्यवसायको वर्गीकरण गर्ने गरी निश्चित अवधिसम्म कर छुटको प्रबन्ध गरिनेछ ।’
कोइरालाले ट्राफिक सम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी) सहितको आकासे पुल निर्माण गरिने बताए ।
साथै नगरको पूर्वी र पश्चिम सीमामा रहेका केसलिया र सिङ्घिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने कार्यक्रम पनि राखिएको छ ।
संकल्पपत्रमा विराटनगरका मध्य भागमा अवस्थित नहरलाई पैदल मार्ग र साइक्लिङ जोनका रूपमा विकास गर्ने बताइएको छ । कोइरालाले कला, साहित्य र सङ्गीतको निरन्तर कार्यक्रम सञ्चालनका लागि ‘ओपन स्क्वायर’ निर्माण गर्ने घोषणा गरे ।
साथै विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी)–सम्म यही वर्ष आइपुग्ने कार्गो रेलको सेवालाई समुचित व्यवस्थापन गर्न रेलको यार्डदेखि आईसीपीसम्म पक्की सडक निर्माण गर्ने कार्यक्रम पनि संकल्पपत्रमा उल्लेखित छ ।