विराटनगर । देशभर निर्वाचनको महौल तातेको बेला विराटनगरमा कांग्रेसका नेताहरुको राजनीतिक सक्रियता चुलिएको छैन । दुई दिन अघि मात्र केन्द्रीय सदस्य भीम पराजुलीले विराटनगरको मेयर पदबाट राजिनामा दिए । तर उनी कांग्रेसको प्रचारप्रसारमा त्यति सक्रिय नरहेको आरोप लाग्दै आएको छ, आखिर किन ?
‘म प्रचारप्रसार मै छु । बल्ल एउटा जिम्मेवारीबाट अलग भएको छु । तर मेरो कांग्रेससँगको जिम्मेवारी छदैछ । म कांग्रेसको केन्द्रीय सदस्यपनि हुँ । कांग्रेसले खडा उम्मेदवारलाई जिताउनु मेरो दायित्वपनि हो ।’ विराटपथको जिज्ञासालाई शान्त पार्दै विराटनगरका निर्वतमान मेयर पराजुलीले भने, ‘मेरो कार्यकालमा धेरै काम भए, जुन अनुभूत गर्नेछन् । बाँकी अधुरा कामहरु छन् । ती कामको जिम्मेवारी लिदै पुरा गर्नु हाम्रो उम्मेदवारको दायित्वपनि हो ।’
उनले आफु प्रचारप्रसारमा सक्रिय नै रहेको बताउँदै काँग्रेसका उम्मेदवारलाई जिताउने अभियानमा प्रदेश १ भरि नै सक्रिय हुने बताए । तर विराटनगर लगायतका अन्य कार्यक्रमको चुनावी अभियानमा मोरङबाट प्रतिनिधित्व गर्ने कांग्रेसका नेताहरु भने एक ठाँउमा उभिन सकेका छैनन् । कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, निवर्तमान मेयर पराजुली र अर्को केन्द्रीय सदस्य डा. डिला संगौला मेयरको दावेदारको रुपमा थिए । तर टिकट भने जिल्ला उपसभापति नागेश कोइरालाले हात पारेका थिए । कोइराला कांग्रेस नेता डा.शेखर कोइरालाको समर्थनमा उम्मेदवार बनेका थिए ।
निर्वाचनले अभियानको रुप लिदाँ नेपाली कांग्रेस विराटनगर नगर समितिले भने शुक्रबार संकल्पपत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । विराटनगरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताको उपस्थितिमा हुने सो कार्यक्रममा जनतालाई छुने खालका संकल्पहरु आउने कांग्रेस नगर सभापति दीपक चापागाई विराटपथलाई बताए । सो कार्यक्रममा कांग्रेसका नेता डा.शेखर कोइरालालाई प्रमुख अतिथि बनाइएको छ भने, केन्द्रीय नेता महेश आचार्य, केन्द्रीय सदस्यद्वय डा.डिला संग्रौला र भीम पराजुली अतिथि छन् ।
‘हामी चुनावमा केन्द्रीत छौ । सबै नेताहरु पनि चुनावमा केन्द्रीत हुनुहुन्छ । महेश दाई, अमृत दाई सबैले आ -आफ्नो ठाँउबाट अभियान चलाईरहनु भएको छ ।’ नगर सभापति चापागाईले विराटपथलाई भने, ‘टिकट लिने बिषयमा आफ्नो दावी थियो होला, त्यो फरक बिषय हो । तर अहिले हामी चुनावमा छौ । हामीले आयोजना गर्न लागेको कार्यक्रमबाट आम जनतामा कांग्रेस छ । एक भएर चुनावमा होमिएको छ भन्ने सन्देश दिन खोजेका हौ । यो एकताको सन्देश पनि हो ।’
फाइल फोटो