इनरुवा । २०६२/०६३ सालमा तत्कालिन राजा ज्ञानेन्द्रको प्रतिगामी कदमका बिरुद्धमा देशब्यापी आन्दोलन चलिरहेको थियो । सबै पेशाकर्मी आन्दोलनमा होमिएको बेला बार एशोसिएसन, सुनसरीले पनि आन्दोलन जारी राखेको थियो ।
सदरमुकाम इनरुवाको महेन्द्र चोकमा बारले खुल्ला इजलासको आयोजना गरेको थियो । सो इजलास प्रतिगामी कदमको बिरुद्धमा थियो, कानुन ब्यवसायी आन्दोलित थिए । तत्कालिन बार एशोसिएसन सुनसरीका अध्यक्ष मणिराज दुलालले भने, ‘त्यहि बेला केदार भण्डारीलाई प्रहरीले गिरफ्तार गर्यो । वहाँ बारको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । वहाँ त्यहिबेला पनि देश र जनताको पक्षमा हुनुहुन्थ्यो ।’
उनै केदार भण्डारी अहिले स्थानीय तहको निर्वाचनमा इनरुवा नगरपालिकाबाट मेयर पदमा प्रत्यासी छन् । करिब २५ बर्ष कानुन पेशामा सक्रिय रहेका भण्डारी पछिल्लो दशकदेखि भने मूल राजनीतिमा केन्द्रीत भए । उनले दुई कार्यकाल नेपाली कांग्रेस सुनसरीको सचिव भएर काम गरे । भण्डारी अहिले सुनसरी कांग्रेसको सभापति छन् । समयसापेक्ष भण्डारीको भूमिका बदलिएको छ । उनी निर्वाचनको मैदानमा छन् । उनी जनप्रतिनिधि हुन्छन् वा हुदैनन् त्यो कुर्न अब केही दिन मात्र बाँकी छ । भण्डारी भन्छन्, ‘कुनै बेला खुल्ला इजलासमा थिए, अहिले जनताको इजलासमा छु । जनताको इजलासबाट पनि म सफल हुन्छु । किनकी म भुँईबाट नै आएको मान्छे हुँ ।’
कानुनमा स्नातक गरेका भण्डारीसँगै अन्य दलका उम्मेदवार पनि निर्वाचनको दौडमा छन् । एमालेले सरोज पोखरेललाई मेयरमा उम्मेदवार बनाएको छ । भण्डारी र पोखरेलबीच नै चुनावी प्रतिष्पर्धा हुने निश्चित छ । तर कांग्रेसका प्रत्यासी भण्डारी भने अहिले नै आफुहरुको जीत निश्चित भएको दावी गर्छन । बुधबारबाट नै भण्डारी लगायतको टोलीले आफ्नो गृह वडाबाट चुनावी प्रचारप्रसार अभियान शुरु गरेको छ । सो वडाबाट कांग्रेसले वडाध्यक्षमा रंगकर्मी अनिल पोखरेललाई खडा गरेको छ । ‘हामीले हिजोबाट नै घरदैलो अभियान शुरु गर्यौ । जनताको ब्यापक सहभागिता छ । ’ अनिलले विराटपथसँग भने, ‘यो अभियान नगरको सबै वडामा रहन्छ ।’
पहिलोपल्ट जनप्रतिनिधि बन्ने प्रतिष्पर्धामा रहेका भण्डारी आफुसँग त्यस्ता ठूलाठूला सपना नभएपनि जनताका साना साना सपना पुरा गर्न सके त्यो नै उपलब्धिपूर्ण हुने बताउँछन् । ‘विकासको सोचलाई बजार नै केन्द्रीत गर्नुपर्छ भन्ने छैन । जहाँ जे कुराको अभाव छ, त्यसलाई त्यहि पूरा गर्नुपर्छ ।’ भण्डारीले भने, ‘मुसहरटोलको समस्यालाई त्यहि समाधान गर्ने हो, जल्पापुरको समस्यालाई त्यहि निराकरण गर्ने हो ।’ आफु काल्पनिक कुरा गरेर जनतालाई दिवास्वप्न देखाउने पक्षमा नरहेको भण्डारीको तर्क छ ।
‘ठूला ठूला कुरा गरेर डिङ हाँक्ने फुर्सद मलाई छैन, मैले त्यस्तो गर्नु नि हुन्न । म यहि बलाहामा जन्मे, बलाहा कै शारदा स्कूलमा पढे । इनरुवाको अबस्था र दैनिकीलाई मैले नजिकबाट नियालेको छुँ ।’ उनको भनाई थियो, ‘हामी जे बोल्छौ त्यहि गछौ । बोलेको कुरा पुरा गरेर देखाउछौ ।’ प्रत्यासी भण्डारीले आफु मेयरमा निर्वाचित भएकै दिनबाट सरकारी सुबिधाको सवारी साधान प्रयोग नगर्ने घोषणा समेत गरे ।
नगर अस्पताल स्थापनादेखि हरेक बर्ष सीमान्तकृत समूदायका १० जनालाई छात्रबृत्तिमा एमबिबिएसको अध्यापन गराउने महत्वाकांक्षी योजना लिएर निर्वाचनमा होमिएका भण्डारीले भने, ‘इनरुवाको पुरातन परम्परा र इतिहासलाई जिवन्त राख्दै नयाँ पुस्ता माझ गर्व गर्न योग्य शहर बनाउने मेरो अभियान छ । यो अभियानमा मलाई तपाईहरुको सद्भाव, माया र सहयोगको अबश्यकता छ ।’