विराटनगर । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा प्राय सबै महानगरपालिका उम्मेदवार छनौट गरिसकेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले महानगर मात्र नभएर उपमहानगरपालिकाको मेयर र उप मेयरको उम्मेदवार पनि टुंगो लगाएको छ । तर विराटनगर महानगरपालिका भने अहिलेसम्म उम्मेदवारको टुंगो लागेको छैन ।
देशभरका महानगर र उपमहानगरको टुंगो लागि सक्दा पनि एमालेले विराटनगरको हकमा उम्मेदवारको टुंगो लगाउन नसक्नुका कारण भने ‘हेभी वेट’ को उम्मेदवार भएको स्रोतले विराटपथलाई बतायो । विराटनगरमा एमालेले अघिल्लो निर्वाचनमा पराजय भोगेको थियो । एमालेका बिनोद ढकाल कांग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए । यो निर्वाचनमा भने एमाले जीत निकाल्ने पक्षमा छ । त्यसैले ‘हेभी वेट’ को उम्मेदवार खोजीमा एमाले रहेको छ ।
स्रोतका अनुसार एमालेले पूर्वमन्त्री लालबाबु पण्डितलाई मेयरमा उम्मेदवार बनाउने तयारी गरेको थियो । एमालेका शिर्ष नेताले पण्डितलाई मेयरमा उम्मेदवार बन्न आग्रह गरेका थिए । तर स्रोतका अनुसार उनले शिर्ष नेताहरुको सो आग्रहलाई ठाडै अस्वीकार गरेका थिए । ‘वहाँले प्रष्टसँग आफु मेयरको उम्मेदवार नबन्ने भन्नुभयो ।’ स्रोतले विराटपथसँग भन्यो । पण्डित महिना दिन अघिदेखि नै चुनावी प्रचारप्रसारमा सक्रिय छन् ।
एमाले विराटनगरका नगर कमिटिका अध्यक्ष सागर थापा मेयरका बलिया दाबेदार हुन । महेन्द्र मोरङ क्याम्पसका पूर्व स्वबियू सभापति समेत रहेका थापा लामो समयदेखि विराटनगरको राजनीतिमा सक्रिय छन् । तर केही नेताहरु उनको पक्षमा नहुँदा उम्मेदवारी उनको बिकल्प खोजिएको हो । ‘ग्राउण्ड बुझेका सागर स्वभाविक रुपमा मेयरका दावेदार हुन । उनी कार्यकर्ता र मतदाताबीच लोकप्रिय पनि छन् ।’ एक नेताले भने, ‘तर नेताहरुको बुझाई उनी ‘हेभी वेट’ को उम्मेदवार नभएको हुनुपर्छ ।’ थापको एमाले विराटनगरको नगर कमिटिमा दोश्रो कार्यकालको नेतृत्व हो ।
एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री जीवन घिमिरेले समेत मेयरमा इच्छा राखेको स्रोतले बतायो । उनी माधव नेपाल पक्षधर नेताको रुपमा चिनिएपनि पछिल्लो समय उनीले एमाले छाडेनन् । तर घिमिरेको पक्षमा केन्द्रीय नेताहरु त्यति सकारात्मक नभएको स्रोतले जानकारी दियो । स्रोतले भन्यो, ‘नेताहरु ‘हेभी वेट’ को उम्मेदवार खोजीमा छन् । आज उम्मेदवारको छिनोफानो हुन्छ ।’
एमाले विराटनगर नगर कमिटिले मेयरका लागि नगर अध्यक्ष थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको थियो ।