विराटनगर । पाँचथर – ९ लुम्बाबुङ्गका ५३ बर्षिय नयनहाङ सिगू (लिम्बु) आइतबार सिधै विराटनगर हानिए । केही उत्साह, मनमा कौतुहलासँगै विराटनगरको यात्रा नयनहाङका लागि केही नविन हुने अपेक्षा थियो । जीवनमा केही परिवर्तन आउने आशामा विराटननगरको यात्रा तय गरेका नयनका लागि साच्चै उत्साहपूर्ण नै रह्यो ।
कुरा २०४७ साल पौष १ गतेको हो । गाँउमा नयनहाङ घर गृहस्थीमा रमाउँदै थिए । खेतीबारीको दैनिकी सहज र खुसीले बितेको थियो । पौष महिनाको पहिलो दिन उनको जीवनमा बज्रपात आइलाग्यो । घर नजिकै रहेको काठको मुढा पन्छाउने क्रममा दुर्घटना हुन पुग्यो । त्यो दिन सम्झदै नयनहाङ भन्छन्, ‘त्यो दिन मेरो लागि काल बनेर आयो । ज्यान त जोगियो तर मेरो हुँदाछदाको हात गुम्यो ।’
घाइते भएका उनलाई उपचारका लागि तत्कालै पाँचथरको फिदिम अस्पताल लगियो । तर चिकित्सकले सो अस्पतालमा उपचार सम्भंव नभएको बताएपछि उनलाई थप उपचारका लागि झापाको भद्रपुर अस्पताल लगियो । भद्रपुर अस्पतालका चिकित्सकले उनको हात काटेर फाल्नुपर्ने सुझाव दिएपछि त्यसै गरियो । त्यो दिनदेखि नयनहाङको देब्रे हात गुम्यो । पौष १ गतेको सो घटनाले उनलाई जीवनभर अपाङ बनायो ।
तर गत सोमबार न्यूरो अस्पताल विराटनगरमा भेटिएका नयनहाङ भने केही उत्साही थिए । देब्रे हातको हत्केला र पन्जा नभएका कारण उनी एउटै मात्र हातले दैनिकी चलाउँदै आएका थिए । गाँउघरमा कुनै संस्थाले क्रृत्रिम हात लगाईदिने खबर सुनेपछि उनी बैशाख ४ गते विराटनगर झरेका थिए । ५ गते उनलाई क्रृत्रिम हात पाएपछि उनले केही राहत महसुस गरेका थिए । सोही कृत्रिम हातबाट उनले न्यूरो अस्पतालमा क्राको समेत काटेका थिए । उनलाई कृत्रिम हात लगाउन चाँजोपाजो मिलाएको थियो, रोटरी क्लब अफ विराटनगरले ।
क्रृतिम हात पाएपछि नयनहाङ साँच्चै खुसी देखिएका थिए । उनले विगतको पीडा भुल्दै भने, ‘डाक्टर साबहरुले मोटरसाइकल समेत चलाउन सक्नुहुन्छ भन्नु भएको छ । मलाई कुनै दिन यही हातको साहराले मोटरसाइकल चलाउन मन छ ।’
रोटरी क्लब अफ विराटनगरका कबिन श्रेष्ठले यसरी मावनसेवा गर्न पाउँदा सुखद लागेको बताए । ‘उनको आँखामा खुसी देख्दा हामी पनि धेरै खुसी भयौ ।’ श्रेष्ठले विराटपथसँग भने, ‘यो सानो प्रयास उनी र उनी जस्ता अरुको पनि जीवन झन सार्थक हुन्छ भन्ने लागेको छ । हामी यस्ता सामाजिक काममा सधै क्रियाशिल हुन्छौ ।’ क्रृत्रिम हातको साहयताले १० केजी सम्मको तौल उठाउन सक्ने, दैनिकी घरायसी काम गर्न सहज हुने र अन्य ब्यवसायिक काम गरेर आय आर्जन गर्न समेत सहयोग मिल्ने श्रेष्ठको भनाई छ ।
रोटरी क्लबले जर्मनी द ह्याण्ड प्रोजेक्टको सहयोगमा एक सय १० जनालाई क्रृत्रिम हात वितरण गर्ने जनाएको छ । यसका लागि न्यूरो अस्पताल विराटनगरले प्राविधिक सहयोग गरेको छ भने करुणा फाउन्डेसनको संयोजन रहेको छ । शुक्रबार सम्म ८४ जनाले क्रृत्रिम हात लगाई सकेका छन् ।