विराटनगर । रंगको पर्व होलीको केही दिन पहिले विराटनगर बिजय कामत एउटा म्युजिक भिडियोको सुटिङमा ब्यस्त थिए । उनीले अभिनय गरेको म्युजिक भिडियो होलीको दिन नै सार्वजनिक भयो । कामत आफ्ना सूचना र बिषयहरुको प्रचारका लागि आफै सामाजिक सञ्जालको प्रयोग गर्छन, उनी सकभर आफ्नो प्रचारमा आम सञ्चारमाध्यमको प्रयोगमा ध्यान दिदैनन् ।
उही बिजय कामत अहिले राजनितिकै गतिबिधिमा ब्यस्त छन् । विराटनगर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बिजय कामत चुनावी अभियान, प्रचार प्रसार र आफु सम्बद्ध पार्टीको भातृ संगठन बिस्तारमा छन् । वहालवाला वडाध्यक्ष कामतलाई विराटपथले सोध्यो, कुन पदमा निर्वाचन लड्ने । कामतले भने, ‘वडाका केही काम पुरा गरेको छु । बाँकी काम गर्ने जिम्मेवारी मेरै हो, तसर्थ फेरि म वडाध्यक्षमा लड्ने तयारीमा जुटेको छु । मेरो उम्मेदवारी रहन्छ । म उठ्छु र बिजय पनि हुन्छु ।’
कामत अहिले ४२ बर्षमा पुगे । पाँच बर्ष अघि नेकपा एमालेका दामोदर पोखरेललाई भारी मतअन्तरले पराजित गर्दै माओवादी केन्द्रबाट उम्मेदवार बनेका कामतले वडाध्यक्षमा बाजी मारेका थिए । कामतले २१५० मत ल्याउदा पोखरेलले जम्मा ६७५ मत ल्याएका थिए । ‘मलाई ४७ बर्षसम्म वडामा सेवा गर्नुछ । अबको ५ बर्ष वडाको अधुरा सबै काम सक्नेछु ।’ उनले भने, ‘लगभग ७० प्रतिशत काम सकिएको छ । बाँकी काम त ठूलो बिषय नै होइन ।’
केसलिया, दुधुवा र बम्हपुरा खोला महानगरको वडा नम्बर ६ भएर बग्ने गर्छ । हरेक बर्षा त्यहाँका बासीका लागि सोही खोलाको पानी पीडा बन्छ । कामतले आफ्नो वडाबासीको पीडा सुनाउँदै भने, ‘कहिले बाढी, कहिले कोरोना कहर । मैले यसरी नै गुजारेको छु, वडामा । मैले यहाँका बासिन्दाका लागि कहिले रात भनिन्, कहिले असजिलो महसुस गरिन ।’
कामतको कार्यकालमा ३ वटा सार्वजिनक बिद्यालयमा अंग्रेजी पठनपाठन शुरु गरिएको छ । यसलाई उनी ठूलो उपलब्धि मान्छन् । ‘सडक धेरै कालोपत्रे भए, मठमन्दिरपनि पूननिर्माण भए । यो नगरका प्राय सबैतिर छ ।’ कामतले भने, ‘तर हामीले यो वडाको प्राथमिक तहका ३ वटा बिद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छौ । शिक्षामा यो महत्वपूर्ण काम हो ।’
कामतको कार्यकालमा सीतापुर, बिजयपथ, जनप्रिय टोल, सुन्दर टोल, त्रिशक्ति मार्ग, रामपुर लगायतको स्थानका सडकहरु कालोपत्रे भएका छन् । तर उनको घरै अगाडी सुनसरी जोड्ने सडक अत्यन्त जीर्ण छ । यो किन, विराटपथको जिज्ञासामा कलाकार समेत रहेका कामतले भने, ‘वडाका सबैतिर विकास भएपछि मात्र मेरो घर अगाडीको बाटो बन्छ । अन्तिममा त्यसलाई कालोपत्रे गर्ने हो ।’