सुनसरी । सुनसरी कांग्रेसका नेता रोहित प्रसाईले नेपाल प्रेस युनियन सुनसरीलाई जग्गा प्रदान गरेका छन् । युनियनको भवन निर्माणका लागि नेता प्रसाईले सोमबार इटहरी १७ स्थित पूर्व–पश्चिमा राजमार्गको मुख्य हाइवेमा साढे ६ धुर जग्गाको धनीपूर्जा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरे ।
कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईले युनियन कांग्रेसको शुभेक्ष्युक संस्था भएकाले युनियनलाई कार्यालय सञ्चालन गर्नका लागि स्वर्गीय आमा बुबाको स्मृतिमा जग्गा प्रदान गरेको बताए । उनले भवन निर्माणको काम तुरुन्तै अगाडी बढाउन समेत आग्रह गरे ।
प्रसाईले कांग्रेसलाई तीनै तहमा निर्वाचित गराएको खण्डमा विकास निर्माणका कामले तीव्रता पाउने बताउँदै भने, ‘पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने क्षेत्र भएकाले यहाँका गतिविधि आम मानिसले थाहा पाउनुपर्ने गरी पत्रकारहरूले काम गरिरहेकाले खुसी पनि लागेको छ ।’
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले देशका ७७ जिल्लामध्ये चितवनमा मात्रै युनियनको भवन रहेकाले अब सुनसरीमा भवन निर्माण हुने बताए । सो कार्यक्रममा भवन निर्माणका लागि होटल व्यवसायी संघ इटहरीले २५ बोरा सिमेन्ट, उवासंघ इटहरीका सदस्य नवराज काफ्लेले ५१ हजार बराबरको इट्टा, रोटरी क्लबकी अध्यक्ष सबिना कोइरालाले २१ हजार नगद, काँग्रेस नेता श्याम रिजाल र गोकुल प्रसाईँले २५–२५ बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गरेका छन् ।