विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई हराउन पाँच दलीय गठबन्धको तालमेल गरेर निर्वाचनमा जान लागेको बताएका छन् । एमाले अध्यक्ष ओली सबैका लागि घाँडो भएको बताउँदै नेपालले उनी परिवर्तन विरोधी समेत भएको उल्लेख गरे ।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष नेपालले भने, ‘देशका निम्ति, लोकतन्त्र र संविधानका निम्ति केपी ओली घाँडो हुन् । वामपन्थीको खास्टो ओढेर अधिनायकवादका रूपमा उदय भएका ओलीलाई स्थानीय तहको चुनावबाटै परिवर्तनशील शक्तिले परास्त गर्न जरुरी छ ।’
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मिल्नेसम्म गठबन्धन हुने उनले बताए । नेपालले भने, ‘आवश्यकताका आधारमा कहाँसम्म मिल्छ, त्यहाँसम्म गठबन्धन हुन्छ ।’ नेपाली कांग्रेसभित्र स्पष्टरूपमा दुई धार रहेको बताउँदै नेपालले गठबन्धन गर्नुपर्छ भन्नेलाई सँगै लैजानुपर्ने र नगरौँ भन्नेलाई एक्लै उठ्न दिनुपर्ने बताए । नेपालले गठबन्धनको विषयमा कांग्रेसभित्र निर्वाचनको बिषयमा दुई धार देखिएको समेत प्रष्ट पारे ।