विराटनगर । मुख्यमन्त्रीबाट तपाईले के अपेक्षा गर्नुहुन्छ, बिकास, सुशासन र सम्बृद्धि ? यो आम जिज्ञासाको सहज जवाफ हो । सो पदमा आसिन जनप्रतिनिधिबाट जनउत्तरदायी कामको अपेक्षा सबै नागरिकले राखेको हुन्छ । प्रदेश १ का मुख्यमन्त्रीबाट पनि तपाईले यस्तै अपेक्षा गरेको हुनुपर्छ । तर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई पदीय मर्यादा र जिम्मेवारी भुल्न मै ब्यस्त देखिएका छन् । यसको पछिल्लो उदाहरण बनेको छ, विराटनगरको एक रेष्टुरेष्टले गरेको म्युजिक कन्सर्ट ।
शनिबार विराटनगरको एयरर्पोट रोडमा आयोजित एक रेष्टुरेष्टमा आयोजित ब्याण्डको कार्यक्रमलाई मुख्यमन्त्री राई उद्घाटन गर्न पुगेका थिए । एयरपोर्ट मोडस्थित तृष्ण रेष्टुरेन्टमा टिकट काटिएर गरिएको कन्सर्टलाई मुख्यमन्त्री राई उद्घाटन गरेका थिए । ‘द एज ब्याण्ड’ को कन्र्सट ब्यवसायिक तबरले आयोजना गरिएको कार्यक्रम थियो । राईले सो कन्सर्टमा मन्तब्य समेत ब्यक्त गरेका थिए ।
श्रष्टा नेपाल र सोलिस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा भनिएको सो कन्सर्टमा प्रतिब्याक्ति २ हजार टिकट दर तोकिएको थियो । सो कार्यक्रममा प्रदेश सांसद बिन्दिया कार्की समेत सक्रिय थिइन् । उनले विराटपथ अनलाइनसँग कुरा गर्दै मुख्यमन्त्री सो कार्यक्रममा सहभागी भएर उद्घाटन गरेको बताईन् । । ‘हो वहाँ आएर उद्घाटन गर्नुभयो, वहाँले युवाहरुलाई हौसला प्रदान गर्नुभयो ।’ प्रदेश सांसद कार्कीले भनिन्, ‘बल्ल कोरोनापछि नेपालका होटल ब्यवसाय फस्टाएको छ । यस्मा मुख्यमन्त्रीज्यू आएर झन हौसला प्रदान भयो ।’
कन्सर्टमा करिब ४ सय जतिको सहभागिता रहको थियो । केही दिन आयोजकले गरेको पत्रकार सम्मेलनमा कार्यक्रम सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने बताएको थियो । मर्यादा बिपरित यो प्रकारको कार्यक्रममा मुख्यमन्त्री सहभागी भएको बिषय बारे आफुलाई कुनै जानकारी नभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले विराटपथलाई बताए ।