विराटनगर । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ । सरकारले सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको छ ।
पहाडमा मालबाहक सवारीका लागि १३ प्रतिशतले भाडा बढेको छ भने तराईमा १५ प्रतिशतका दरले भाडा बढेको छ । पेट्रोलियम पदार्थमा लगातार भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर मन्त्रालयले लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय गरेको हो । सरकारले भाडा बढाउने निर्णय गरेपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् ।
मन्त्रालयले यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको छ । मन्त्रालयले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ सार्वजनिक सवारीको भाडा समायोजन गर्ने निर्णय गरेको छ ।
भाडा बढेसँगै अब विराटनगर काठमाण्डौको भाडादर १४३९ रुपैया पुगेको छ । त्यस्तै विराटनगर कटारी ४९८, विराटनगर कलैया ८६४, विराटनगर गाइघाट ४१३, विराटनगर जनकपुर ५७६ रुपैया कायम भएको छ । त्यस्तै विराटनगर दाङ १७७०, विराटनगर नारायणगढ १०४४, विराटनगर पोखरा १४०६, विराटनगर भैरहवा १३६३, विराटनगर राजविराज २६३ र विराटनगर महेन्द्रनगर २२०२ रुपैया भएको छ ।