विराटनगर । मोरङको बेलबारीमा बिहिबार विहान मोटरसाइकल दुर्घटना भयो । बेलबारी नगरपालिका १० भाउन्नेमा विहान ६ बजे भएको मोटरसाइकल दुर्घटनामा चालक सुन्दरहरैचा नगरपालिकाका चेवनकुमार धमला र पछाडी बस्ने बिशाल भनिने खेम भट्टराई घाइते भए ।
एकाविहानै १ -०२ – ०४१ प ८८८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पैदलयात्री समेतलाई ठक्कर दिएको थियो । सो मोटरसाइकलले बेलबारीका प्रितम राई, सन्देश दास र कानेपोखरीका दिलकुमार योगीलाई ठक्कर दिएको थियो । घटनास्थलमा पुगेको प्रहरीको टोलीले घाइते पाँचै जनालाई उपचारका लागि स्थानीय बेलबारीको नोबेल सामुदायिक अस्पताल लग्यो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार घाइते मध्ये मोटरसाइकल चालक धमला र पछाडी सवार भट्टराईको ब्यवहार शंकास्पद रहेको थियो । ‘उनीहरुको ब्यवहार शंकास्पद थियो । त्यसपछि हामीले उनीहरुले बोकेको झोला खानतलासी गर्यौ ।’ प्रहरी निरीक्षक खनालले भने, ‘झोलामा भारी परिणाममा लागुऔषध फेला पर्यो ।’
इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले उनीहरुको झोलाबाट ८९२ पिस नाईट्रोजन र करिब १३ ग्राम चरेस जस्तो देखिने बस्तु बरामद गरेको थियो । घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सवारी दुर्घटनासँगै अन्य अपराधिक बिषयहरु समेत सार्वजनिक भएको बताए । एसपी खड्काले भने, ‘प्रहरीले नियन्त्रण लिएका ब्याक्तिबाट अन्य कुरा खुल्यो ।’
प्रहरीले नियन्त्रणमा लिएको धमला र भट्टराईसँग थप सोधपुछ गर्दा उनीहरुले सो लागुऔषध सुनबर्षी ८ बस्ने ६० बर्षिय अब्बास मियाँबाट खरिद गरेर ल्याएको खुलेको थियो । मियाँ लागुऔषधको कारोबारी रहेको खुलेपछि बेलबारीको प्रहरी टोली सुनबर्षी पुगेको थियो । प्रहरीले मियाँको घरमा खानतलासी लिने क्रममा लागुऔषध सहित कटुवा पेस्तोल बरामद भएको थियो । प्रहरीका अनुसार मियाँको घरबाट कटुवा पेस्तोल एक थान, सो पेस्तोलमा लाग्ने गोली दुई थान, नाईट्रोभ्याट ६०० पिस र डिसी २ बोतल बरामद भएको थियो । पक्राउ परेका उपर थप अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।