विराटनगर । कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाउने र लम्ब्याउने क्रम जारी छ । यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म लम्ब्याउने भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आइतबार चौथौं पटक जिल्लामा निषेधाज्ञा थपिएको सूचना जारी गरेका छन् । मोरङ प्रशासनले जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ । यस्तै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ लाई पनि निषेधाज्ञा थप गर्ने आधारको रुपमा प्रशासनले लिएको छ ।
कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।