

विराटनगर । पछिल्लो समय औषधीको कालोबजारी बढेसँगै प्रहरीको सक्रियता पनि बढेर गएको छ । आइतबार विराटनगरको रानीबाट मोरङ प्रहरीले औषधी कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेपछि उनीहरुको अबैध कारोबार सक्रिय रहेको पुष्टि हुन्छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार दिउँसो विराटनगर महानगरपालिका १५ रानी स्थित जनता मेडिकल स्टोर सञ्चालन गर्ने सोही स्थानका ३५ बर्षिय रविकुमार रजक औषधीको कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन् । रजकलाई इलाका प्रहरी कार्यालय रानीको प्रहरीको टोली पक्राउ गरेको हो । रजकको घरमा कालोबजारी गर्न तयार गरि राखिएका बिभिन्न प्रकारका औषधी समेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको घरको कोठामा फिजिसियन स्याम्पलका औषधीहरु फेला परेका थिए । त्यस्तै मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन औषधीहरु फेला परेको प्रहरीको दावी छ । प्रहरीले कोठाबाट १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू समेत बरामद गरेको छ ।
पक्राउ परेका रजकले भण्डारण गरी राखिएका खोलहरु झुक्याई बिक्री बितरण साथै औषधी समेत अवैध रुपमा जम्मा गरेको जनाएको छ । कालोबजारी गरेको भन्ने बिशेष सूचनाको प्रहरीले पक्राउ गरेका रजकलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप कारबाही प्रक्रिया अघि बढाएको छ ।