विराटनगर । कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव ब्यवस्थापनमा सक्रिय रहेको बरगाछी युवा समूहका अभियानकर्मी शुक्रबार साँझ विराटनगरको परोपकार घाटमा शव ब्यवस्थापन मै थिए । हरेक दिनको धपेडीसँगै शरिरमा केही कमजोर महसुस भएपछि उनीहरुले कोरोना परिक्षणका लागि शुक्रबार विहानै स्वाब दिएका थिए । कोरोना बिरुद्धको खोप लगाउन नपाएका कारण हरेक दिन जोखिम मोलिरहेका उनीहरुमा तनाब त थियो नै सँगसँगै अभियानलाई निरन्तरता दिनुपर्ने जिम्मेवारी ।
जतिबेला उनीहरु जोखिम मोलेर शवको ब्यवस्थापन गर्दै थिए, त्यहिबेला विराटनगरको तीनपैनी चोकमा रहेको सिटी सिनेमा हल अगाडि निजी सवारी साधनको लाइन थियो । निषेधाज्ञाको समयमा पनि सिनेमा हलभित्र चहलपहल थियो । त्यहाँ विराटनगरका उद्योगपति ब्यापारीलाई कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डको दोस्रो डोज लगाइदै थियो । उनीहरुलाई निषेधाज्ञाले अलिकति पनि अबरोध गरेको थिएन् ।
शुक्रबार साँझ प्रदेश सरकारले उपलब्ध गराएको कोभिसिल्डको दोश्रो डोज ब्यापारीले सुटुक्क लगाएको समाचार सार्वजनिक भइरहँदा शव ब्यवस्थापनमा जुटेका अभियानकर्मी राम नेपालले निरास हुँदै सामाजिक सञ्जालमा आफ्नो समूहका केही सहकर्मी कोरोना भाइरसको संक्रमण परेको जानकारी दिदै थिए । नेपालले शव ब्यवस्थापनमा निरन्तर सक्रिय सहकर्मी अनुराग भण्डारी र संजोग गौतममा कोरोना संक्रमण देखिएको जानकारी दिदै थिए ।
उद्योगीलाई मात्र सुटुक्क कोरोनाविरुद्धको खोप दिएपछि आक्रोशित बनेका स्थानीयबासीको माग पनि त्यहि थियो, जुन अभियानकर्मीले शुक्रबार भोगे । ‘जनता उपचार नपाएर मरिरहेका छन् । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा खटिएका अभियानकर्मीलाई खोप छैन ।’ सिनेमा हल पुगेर प्रदेश सरकारको यो कार्यको बिरोध गरिरहेका विद्यार्थी नेता ताजिम अन्सारीको भनाई थियो, ‘सरकार ढोका थुनेर पहुँचवालालाई मात्र खोप दिन्छ ।’ अन्सारीले खोपको बिरोध नभई खोप लगाउने प्रक्रिया र प्रबृतिको बिरोध गरेको जनाए ।
यता शव ब्यवस्थापनमा जुटेका अभियानकर्मी राम नेपाल सहकर्मीलाई नै कोरोना संक्रमण भएपछि खिन्न थिए । ‘हामीलाई कुनै रहर थिएन, आम नागरिककै आग्रहमा यो काम गरेका हौ ।’ नेपालले भने, ‘हामी जो हरेक दिन चुनौती र जोखिम मोलिरहेका हुन्छौ । हामीप्रति कसैको सद्भाव छैन । जो पहुँचवाला छ, जोसँग पैसा छ, उनीहरुले जहिलै यस्तो मौका पाउँछन् ।’ उनले शव ब्यवस्थापनमा पेशा, बर्ग, जात, धर्म केही नभनी सेवा गरिरहेको बताउँदै राज्यले पनि यस्तै भाव राखेर सबैलाई एकनासको ब्यवहार गर्नुपर्ने बताए ।
बरगाछी युवा समूहमा नेपालसँगै रोबिन कार्की, दृश्यमान शाक्य, अनुराग भण्डारी र गौतम शव ब्यवस्थापनमा सक्रिय छन् । उनीहरुले शुक्रबार सम्ममा ५० वटा शव ब्यवस्थापन गरिसकेका छन् । भण्डारी र गौतमलाई कोरोना संक्रमण भएपछि उनीहरु सबै ७ दिन आइसोलेशनमा बस्ने भएका छन् ।