

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने बताएकी छन् । उनले विपन्न वर्गलाई केन्द्रीत गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको समेत जनाएकी छन् । उपचार कोषको निर्माण भने प्रदेशमा रहेका प्रदेशबासीबाट सहयोग संकलन गर्ने मन्त्रालयको तयारी रहेको छ ।
प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा मंगलबार अधिकारकर्मीको सुझाव लिदै उनले निःशुल्क स्वास्थ्य सेवा दिनेगरि निर्माण हुने कोषमा प्रदेशवासीबाट सहयोग संकलन गरिने उल्लेख गरिन् । मन्त्री राईले सो अवधारणा अन्तरगत प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने योजना सुनाइन् । उनले भनिन्, ‘ सम्पन्न व्यक्तिहरु हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल पुग्न सक्छन । तर बिपन्न र गरिब जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भनेर यो अबधारणा तयार गरेका हौ ।’
उपचार कोषमा सहयोग गर्न सक्नेहरुले आफ्नो योगदान सजिलै हेर्न सकुन भनेर प्रदेश सरकारले ‘एप्स’ निर्माण गर्ने मन्त्री राईले बताइन् । उनले कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राख्ने समेत प्रष्ट पारिन् ।
सामाजिक विकास मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरि प्रदेश सरकारले योजना बनाईरहेको उल्लेख गरिन् । कार्यक्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । उनले महिला, बालबालिका, जेष्ठ नागरिक सम्बन्धि ऐन निर्माणमा विशेष ध्यान दिन आग्रह गर्दै सामाजिक विकास परिषद् गठनमा जोड दिए ।
कोकन अध्यक्ष मञ्जिता उपाध्यायले नीति तथा कार्यक्रममा सुझाव सँगै कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गरिन् । सामाजिक क्षेत्रले उठाएका सवालहरुलाई सरकारले दीगोपना दिनुपर्नेमा उनको जोड थियो । माईती नेपालका मोरङ संंयोजक विनोद पोखरेलले बलात्कार र मानव बेचविखनका घटनाहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । एबीसी नेपाल प्रदेश १ अध्यक्ष विष्णु शर्माले सामाजिक क्षेत्र सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताइन् । शर्माले तत्काल कोरोना बिरुद्धको खोपको ब्यवस्था हुनुपर्ने माग गरिन् । अधिकारकर्मी डिक घिमिरेले विगत बर्षका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे ।