विराटनगर । प्रविन गौतम पेशाले शारिरीक सुगठनका प्रशिक्षक हुन । गौतम लगायतको टिम मिलेर विराटनगरको कन्चनबारीमा रिर्चड फिटनेस सञ्चालनमा छ । गौतम राजनीतिक रुपले पनि सक्रिय छन् । माओवादी केन्द्र नजिक रहेको वाईसिएल, विराटनगरको नगर अध्यक्ष पनि हुन गौतम ।
विराटनगरमा राजनीतिक गतिबिधि शुन्य छ । फिटनेश सेन्टर पनि कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द छ । यस्तो जोखिममा भने गौतमको सक्रियता भने धेरै छ । उनी हरेक दिन विहान घरबाट नस्कन्छन् र राती अबेर मात्र घर पुग्छन् । यस्तो संन्त्रास र जोखिमको बेला सबै घरमा बसेको बेला उनको दिनचर्या भने ग्रामिण क्षेत्रको बस्ती र घर घरमा बित्छ ।
पछिल्लो समय कोरोना संक्रमणको दर ह्वातै बढेपछि सामाजिक सेवाको कार्यमा युवाको सहभागिता बढेको छ । समाजमा केही योगदान दिने उद्धेश्यले वाईसिएल विराटनगरका नगर अध्यक्ष गौतम सक्रिय भए र युवाहरुको टोली समेत बनाए । गौतम नेतृत्वको टोलीले विराटनगर ४ कञ्चनबारीको सम्झना चोक, गोकुल चोक, विराटनगर १ को परोपकारघाट आसपासका क्षेत्र, विराटनगर १९ बैजनाथपुरको मुसहर बस्तीका करिब २ सय घरमा सेनिटाइज गरेको छ । सो टोलीले नगरका बिभिन्न क्षेत्रमा करिब २५ हजार मास्क, ४ हजार हातधुने साबुन, २ हजार सेनिटाइजर र ५ सय आर्गेनिक चिया निशुल्क बितरण गरेको छ ।
गौतमको टोलीमा मोम्हमद सोनु, प्रेम श्रेष्ठ, मोहम्मद अन्सरुल, सुदीप श्रेष्ठ, अमित चौधरी, पुष्प साह र कमल धमला लगायत रहेका छन् । ‘हामीलाई पार्टी कै नेताहरुले सहयोग गर्नु भएको छ । वहाँहरुको सहयोगका कारण हामीलाई झन हौसला मिलेको छ ।’ अभियानकर्मी गौतमले विराटपथलाई भने, ‘यो जटिल अबस्था छ । डर त छदै छ, तर समाजमा केही गर्नुपर्छ भन्ने भावनाले यो काम गरेका हौ ।’
सो टिमलाई साँसद शिवकुमार मण्डल, अमनलाल मोदी, वाईसिएलका केन्द्रीय अध्यक्ष दीपशिखा, सचिव मिङ्मा शेर्पा, केन्द्रीय सदस्य ईश्वरी आचार्य र जिल्ला अध्यक्ष परबेज आलमले सहयोग गरेका छन् । उनीहरुको समूह विगत २६ दिनदेखि विराटनगरका बिभिन्न स्थानमा यस प्रकारको अभियान गर्दै हिडेका छन् । नगर अध्यक्ष गौतम भन्छन्, ‘घरमा परिवार छ, त्यहि कारण डर धेरै छ । तर त्यो डर भन्दा आत्मसन्तुष्टि कयौ गुणा बढी मिलेको छ ।’