काठमाण्डौं । काठमाडौस्थित बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिले कोभिड १९ संक्रमितका लागि चन्द्रागिरि नगरपालिका वडा १२ बलम्वुमा स्वास्थ्य सामुदायिक अस्पतालमा सञ्चालनमा ल्याउने भएको छ । अक्सिजन सहितको आईसोलेसन सेन्टरका लागि हाल स्थानीय, संघ संस्थाबाट सहयोग जुट्ने कार्य भईरहेको रहेको समितिले जनाएको छ ।
सो कार्यका लागि लाईन्स क्लब अफ चन्द्रागिरि काठमाडौंका अध्यक्ष जयराम प्रसाद लुईंटेल र नेपाल तरुण दल काठमाडौं क्षेत्र नं १० का सभापति ईश्वर लामाले संयुक्त रुपमा बलम्वु अस्थायी आईसोलेसन सेन्टरको लागि ५ थान सर्जिकल बेड सहित पिपिई सेट, स्यानिटाईजर, डिस्पोजल ग्लोब्स, फेस सिल्ड, मास्क हस्तान्तरण गरिएका छन् ।
त्यसैगरि, चन्द्रागिरि नगरपालिका वडा नं ७ का वडाध्यक्ष शम्भु केसीले १० थान पिपिई सेट उपलब्ध गराएका छन् । गुर्जुधारा सहयोगी समुहले १० वटा अक्सिमिटरसहित स्यानिटाईजर, मास्क र डिस्पोजल ग्लोब्स हस्तान्तरण गरेको समितिले जनाएको छ । कोभिड १९ संक्रमितलाई उच्च मनोबलसहित प्राथमिक उपचार सेवा प्रदान गर्ने गरी आईसोलेसन सेन्टर शनिवारदेखि सञ्चालनमा आउने ब्यवस्थापन समितिका अध्यक्ष बिकास महर्जनले जानकारी दिए ।
कोरोनाबाट थप संक्रमण फैंलिन नदिन त्यसको नियन्त्रण तथा रोकथाम गर्ने हेतुले नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड पालनासहित कोभिड १९ संक्रमित ब्यक्तिहरुका लागि प्राथमिक उपचार सहित आइसोलेसन सेन्टरको सेवा प्रदान गर्ने अध्यक्ष महर्जनले प्रष्टाए ।