विराटनगर । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई अदालतले पुर्पक्षको लागि थुना पठाउने आदेश दिएको छ । उनी केही दिन अघि धरानको डुकु होटलबाट एक नाबालिका सहित पक्राउ परेका थिए ।
जिल्ला अदालत सुनसरीका न्यायधीश टिकेन्द्र दाहालको इजलाशले यादवलाई सोमबार पुर्पक्षको लागि थुनामा राखेर कारबाही गर्ने आदेश दिएको अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । सोमबार भएको थुनछेक बहस पश्चात न्यायधीश दाहालले पुर्पक्षको लागि थुनामा राखेर कारबाही गर्ने आदेश दिएका थिए ।
अदालतको आदेश पछि यादवलाई झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको प्रहरीले जनाएको छ । यादव गत बैशाख ८ गते धरान १३ स्थित कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा सञ्चालित डुकु होटल एण्ड लजबाट पक्राउ परेका थिए । एक १७ बर्षीया नाबालिकासँग पक्राउ परेका यादवलाई जर्बजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।