विराटनगर । करिब ९ बर्ष अघि मोरङको कानेपोखरी रमाइलो सडकखण्डमा एक महिलाको बिभत्स तवरले हत्या भयो । सडक छेउमा उत्तानो परेको अबस्थामा फेला परेको शव छेउमा ती महिलाको ब्याग थियो । नजिकै चप्पल पनि थियो । शवको छेउमा रगतका छिटा थिए । टाउको र अनुहारमा ढुंङ्गाको प्रहारबाट शवको सनाखत गर्न कठिन थियो ।
घटना थियो, २०६९ साल चैत्र २२ गतेको । साविकको कानेपोखरी गाबिस ९ मा फेला परेको अन्दाजी ३२ देखि ३५ बर्ष देखिने ती महिलाको कम्मन मुनिको भाग नाङ्गो अबस्थामा थियो । जंगलको बिचैबिच पर्ने सडकको पूर्व पट्टी फेला परेको शवको बिषयमा प्रहरीले त्यो बेला प्रारम्भिक अनुसन्धान पनि गर्यो । तर अपराधी पत्ता लगाउन सकेन । न मृतकको पहिचान हुन सक्यो, न कसैले प्रहरीमा जाहेरी नै दिए । यो मुद्धा प्रहरीको दराजमा त्यत्तिकै थन्किएर बस्यो ।
अहिले जिल्ला प्रहरी कार्यालय मोरङले यो बिषयलाई फेरि उठान गरेको छ । ‘यो घटना निक्कै जटिल छ । हामीले पुरानो र जघन्य प्रकारको अपराधमा फेरि केही गर्न सक्छौ कि भनेर फेरि अनुसन्धानलाई अघि बढाएका हौ ।’ मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले विराटपथसँग भने, ‘त्यो समयमा हराएका महिलाहरुको खोजीसँगै कतैबाट केही नयाँ सूचना आउन सक्छ कि भनेर शवको तस्वीर सार्वजनिक गरेका छौ । अनुसन्धान पनि जारी नै छ ।’
नाम वतन केही नखुलेको ५ फिट ३ इन्च उचाई भएको, पेटमा सेतो धर्सा देखिने, गहुँगारो वर्णको, सेतोमा बुट्टेदार कुर्ता लगाएको, खैरोमा कालो फित्ता भएको चप्पल मृतकको छेउ मै रहेको, शवदेखि उत्तर ३ मिटरको दुरीमा गुलाबी रंगको झोला रहेको अबस्था फेला परेको शवको बिषयमा कसैलाई कुनै जानकारी वा सूचना भए प्रहरीलाई उपलब्ध गराउन मोरङ प्रहरीले आग्रह गरेको छ । प्रहरीले कसैले केही सूचना दिए त्यसलाई गोप्य समेत राख्ने जनाएको छ ।
बिषय पुरानो भएपनि कुनै पनि अपराधमा प्रहरीको भूमिका उत्तिकै जिम्मेवार रहने बताउँदै मोरङका एसपी खड्का यो हत्याकाण्डलाई गहन तवरले अनुसन्धान गर्दै निष्कर्षमा पुग्न सकिने बिश्वास ब्यक्त गर्छन । ‘त्यतिबेला त त्यो सडक कच्ची नै थियो होला, मृतकको पहिचान पनि हुन सकेन । बिषय त्यत्ति कै थाँती बस्यो ।’ उनले भने ।
मोरङ प्रहरीले डिएसपी मन्जिल मुकारुङको नेतत्वमा सो घटनाको बिषयमा अनुसन्धान गर्न प्रहरी टोली परिचालन समेत गरेको छ ।