विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समय थप गरेको छ । भोलिदेखि लागू हुने गरि जिल्लामा थप १० दिन निषेधाज्ञा थपिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले विराटपथलाई बताए ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले थप १० दिनसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले जेठ ११ गते सम्मका निषेधाज्ञा थप गरेको हो ।
बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जेठ १ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । यसअघि बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि बसेको बैठकले भने बैशाख २४ गतेदेखि लागु हुने गरि जेठ १ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गरेको थियो ।