विराटनगर । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले कोरोना संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीहरुको सहज रुपमा पिसिआर परीक्षणको व्यवस्था गर्न र संक्रमित सञ्चारकर्मीको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गरेको छ । समितिले स्वास्थ्य सुरक्षाका सामाग्रीहरु समेत उपलब्ध गराउन प्रदेशका मुख्यमन्त्री शेरधन राईसँग आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमणको कारण सञ्चारकर्मी नराम्ररी प्रभावित हुन पुगेका भन्दै महासंघको टोलीले पत्रकार तथा सञ्चार माध्यमका समस्याबारे ध्यानाकर्षण गराइएको जनाएको छ । महासंघले जारी गरेको विज्ञप्तिमा पहिलो महामारीमा प्रदेश १ मा सय जना पत्रकार संक्रमित भएको र दोस्रो महामारीबाट अहिलेसम्म ३८ जना पत्रकार संक्रमित भएका उल्लेख गरेको छ । अहिलेसम्म प्रदेश १ मा कोरोना संक्रमणका कारण एक जना पत्रकारको निधन भएको छ ।
महासंघ प्रदेश समितिको गत भर्चुअल बैठकबाट भएका निर्णय अनुसार अध्यक्ष लीलाबल्लभ घिमिरेको नेतृत्वमा गएको टोलीले कोरोनाबाट प्रभावित पत्रकारहरुको लागि महामारी विरुद्ध सचेतना फैलाउने सामाग्री सम्प्रेषण गर्नेगरि फेलोसिपको व्यवस्था गर्न र संकटग्रस्त सञ्चारसंस्थाका लागि राहत प्याकेज ल्याउन समेत आग्रह गरेको छ । त्यस्तै प्रादेशिक सञ्चार प्रतिष्ठानमातहत रहेको पत्रकार उपचार कोषबाट कोरोना संक्रमित पत्रकारको उपचारमा परिचालन गर्न माग गरेको छ ।