विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । कोरोनाका कारण विराटनगर – ३ का आमा – छोराको मृत्यु भएको छ । मारवाडी समूदायका उनीहरु विराटनगरमा लामो समयदेखि सुनचाँदीको कारोबार गर्दै आएका छन् । पारिवारिक श्रोतका अनुसार उनीहरुको पुरै परिवारमा कोरोना संक्रमण रहेको छ । बुवालाई घर मै अक्सिजन दिएर राखिएको छ ।
‘केही दिन अघि वहाँको परिवारको दुई जना उपचारका लागि विराट नर्सिङ होम गएका थिए । त्यहि गएपछि कोरोना संक्रमणको लक्षण देखा पर्न थाल्यो ।’ मृतकका आफन्तले विराटपथसँग भने, ‘पुरै परिवारलाई संक्रमण छ । बुवाको अबस्था जटिल भएपछि आज अक्सिजन दिएर राखेका छौ ।’
मृतक आमालाई बैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ ७ः३० बजे मृत्यु भएको थियो । छोराको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि आमा छोरा नै विराटनगर अस्पतालमा भर्ना भएका थिए । आमाको उमेर ६० बर्ष हो भने, छोरा ४२ बर्षिय हुन । मृतक आमा छोरा कै शव ब्यवस्थापनको कार्य बरगाछी युवा समूहका अभियानकर्मीले गरेका छन् ।
बुधबार राति मृत्यु भएकी आमालाई मृतकका कान्छा छोराले अन्तिम संस्कार गरेका थिए । दाजुको अन्तिम संस्कार भने उनैका १७ बर्षिय छोराले सिंघिया घाटमा गरेका छन् । अस्पतालका अनुसार उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल बन्दै गएकी वृद्धा महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो । गम्भीर अवस्थामा वैशाख – २३ गते अस्पताल भर्ना भएका ४२ वर्षीय छोराको अक्सिजन सपोर्टमा उपचारका क्रममा मृत्यु भएको हो ।
फाइल फोटो