

विराटनगर । झुण्ड झुण्डमा मानिसहरु थिए । सबैको मुखमा मास्क थियो । दुरी कायम गरेर उनीहरु एक अर्कालाई हेर्न बाहेक केही संवाद गर्ने अबस्थामा थिएनन् । तीन वटा शव जलिरहेका थिए । मानिस भएर पनि सुनसान थियो, बुधबार विराटनगरको परोपकारघाट ।
केही बेरमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको शव ब्यवस्थापनमा जुटेका बरगाछी युवा समूहका अभियानकर्मी सवार सेतो गाडी घाटमा आइपुग्यो । त्यो गाडीको पछाडी अर्को एउटा पिकअप गाडी थियो । गाडीमा ड्राइभर थिए, गाडीको डालामा तन्नाले बेरिएको शव थियो । न पुरोहित थिए, न मालिम । मृतकका छोरा मलिन अनुहार लिएर गाडीको पछि पछि आफैले हाँकेको मोटरसाइकलबाट ओर्लिए ।
बुधबार परोपकार घाटमा जलिरहेका शव मध्ये २ वटा कोरोनाका कारण मृत्यु भएको थियो । बरगाछीका युवाले लगेको शवसँगै त्यहाँ कोरोनाका कारण मर्नेको संख्या ३ पुगेको थियो । अभियानकर्मी रविन कार्कीले सो शव भन्दा पहिले नोबेल अस्पतालबाट एउटा शव ब्यवस्थापन गरेर सिंघियाघाट लगेको बताउँदै थियो । लाश जलाउन चिता तयार हुँदै थियो । अभियानकर्मी युवाहरु नै चिता बनाउन सक्रिय भए ।
मृतकका छोरा गहभरि आँशु बगाउँदै भन्दै थिए, ‘हिजोसम्म आमालाई केही त्यस्तो भएको थिएन, केही औषधी लगाएपछि हामीसँग राम्रोसँग बोल्नुभयो । तर आज अक्सिजन पनि लगायौ, एक्कासी आमा बित्नुभयो ।’ विराटनगरको भृकुटी चोक घर भएका मृतकलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी हामीले आमाको अन्तिम अबस्थाको तस्वीर लिइदिन आग्रह गर्दै थिए ।
केही बेरमा चिता तयार भयो । अभियानकर्मीले गाडीको डालाबाट शव चितामा लगे । ४ लिटर मट्टितेल थियो । आगो सल्काउन बाँसको भाटामा मट्टितेल खन्याएर सलाई बालियो । तर हिन्दु परम्परा अनुसार त्यहाँ पुरोहित थिएनन् । शव ब्यवस्थापनमा जुटेका अभियानकर्मीले खाना समेत खाएका थिएनन् । चितामा शव राखियो । त्यहाँ केही समय कुर्नु पर्ने भयो । थकित अभियानकर्मी शवको नजिकै टुसुक्क बसे । केही बेरमा विराटनगरका मेयर भीम पराजुली घाटमा पुगे । पराजुलीले त्यहाँ रहेकासँग केही बेर गफगाफ गरे ।
नजिकै शव जलिरहेका थिए । त्यहाँ आएका पुरोहित फुर्सदमा थिए । मृतकका छोराले आफ्नो आमाको अन्तिम संस्कारका लागि ती पुरोहितलाई याचना गरे । पुरोहित राजी भए, उनले सहयोग गर्ने जनाउ दिए । चामल, तिल र घ्यू किनेर ल्याईयो, तर कुश थिएन । फेरि नजिकैबाट कुश मागेर ल्याइयो । मृतकका छोराले चितामा कुश राखे । चामल, तिल र घ्यू मिसाएर चरु बनाइयो । पुरोहित मन्त्र पढ्न थाले । छोराले चरु शवको दाहिने हात, खुट्टा र नजिकै रहेको रुखमा राखे । बाती तयार थियो । सहयोगीले बातीमा सलाई कोरिदिए । छोराले शवमा दागबत्ती दिए । शव ब्यवस्थापनमा जुटेका अभियानकर्मीले चिताको चारैतिर आगो लगाए । केहीले मट्टितेल खन्याए । आगो दनदनी बल्यो । धुँवाको मुस्लो आकासतिर उड्दै विलन हुँदै गयो ।
प्रतीक श्रेष्ठको सहयोगमा तयार