इटहरी । पूर्व क्षेत्र कै नमूना र ठूलो सिमसार बन्ने भएको छ । जैविक विविधतालाई संरक्षण गर्दै पूर्वमा पर्यटकिय स्थलको विकास गर्ने उद्धेश्य अनुसार अमाह सिमसारको डिपिआर समेत तयार भएको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका – ५ को अमाह सामूदायिक बन उपभोक्ता समूहले संरक्षण गरेर राखेको ५२ हेक्टर जमीनमा रहेको सिमसारलाई ब्यवस्थित गर्न डिपिआर तयार पारिएको हो । कलाकार बिक्रमश्रिले तयार गरेको डिपिआरलाई प्रदेशको पर्यटन मन्त्रालयले स्वीकृत गरेको छ । डिपिआर निर्माणकर्ता बिक्रमश्रिले पर्यटन, जलाधार र प्रकृति जस्ता बिषयलाई समेटेर आदिबासी पहिचानलाई समेत सिमसारले झल्काउने बताए । उनले भने,‘हाम्रो प्रयासलाई स्वीकार गरिएको छ । यसले झन उत्साहित बनाएका छ ।’
उपभोक्ता समूहका अध्यक्ष भोजराज घलेका अनुसार बन क्षेत्रमा रहेको २ सय ३ हेक्टर जमीन मध्ये ५२ हेक्टरमा बन्ने सिमसारमा ५० करोड भन्दा बढीको लगानी रहनेछ । सो लगानी प्रदेशको पर्यटन मन्त्रालयले गर्नेछ । यो कार्यमा पर्यटनमन्त्री जगदीश कुसियत आफै क्रियाशिल भएर लागेका छन् । जैविक बिबिधता सहित स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा सो स्थलमा संग्राहलयको समेत निर्माण हुनेछ ।
कलाकार बिक्रमश्रिका अनुसार पर्यटकीय क्षेत्रमा सूचना केन्द्रको निर्माणको समेत अवधारणा अघि सारिएको छ । जलबायु सम्बन्धी सम्पूर्ण जानकारीको संगमस्थल रहने सिमसारमा दैनिक हुने मौसम सम्बन्धी जानकारी, तापक्रमको समेत सूचना प्राप्त हुनेछ । बन क्षेत्र रहेका कारण जंगली जनावर हात्तीदेखि, जंगलमा आकासे मार्ग, आदिवासी संस्कृतिक केन्द्र र ग्रीन लाइब्रेरी हुने हुँदा बिद्यार्थीदेखि लिएर अनुसन्धाकर्तालाई समेत फाइदा पुग्नेछ ।
अहिले नै आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणको केन्द्रको रुपमा विकास हुदै गएको सो क्षेत्र अति रमणीय र प्राकृतिक दृष्टिकोणले मन नै लोभ्याउने प्रकारको छ । अमाह सिमसारमा प्राकृतिक हरियाली, जलविहार, शान्त रहेको छ ।