दैनिक मृत्युदर बढ्यो
विराटनगर । मोरङ व्यापार संघका कार्यकारीणी समितिका सदस्य तथा सल्लाहकार सुनिल टिवडेवालाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको सोमबार विहान विराटनगर–२ स्थित विराट अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । एकसाता अघि टिवडेवालामा कोरोना संक्रमण पुष्टि भएको थियो । ४५ वर्षीय टिवडेवालको उपचारकै क्रममा मृत्युभएको जनाइएको छ । टिवडेवालाले हाइटेक कार्पेट र एसटी फेब्रिक्स कार्पेट गरी दुई कार्पेट उद्योग सञ्चालन गर्दै आएका थिए । साथै उनले नवीन डिस्टिब्युटर्स नामबाट देशभरि इलेक्ट्रोनिक सामग्रीको कारोबार पनि गर्दैथिए ।
त्यसैगरि विराटनगरमा लामो समयदेखि स्टेशनरी ब्यवसायीमा आवद्ध बिजय सत्यालको पनि कोरोना संक्रमणका कारण निधन भएको छ । उनी सत्याल बुक स्टेशनरीका सञ्चालक हुन । यस्तै विराटनगरका लेखा परीक्षक बिष्णु खतिवडाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगर–८ का ५६ वर्षीय खतिवडाको आइतबार बेलुका ७ बजे मृत्यु भएको हो । बैशाख १० गते नोबेल मेडिकल कलेजमा उपचारका क्रममा कोरोना पुष्टि भएको थियो । उनी थप उपचारका क्रममा प्रतिष्ठानको आइसोलेसनमा थिए । खतिवडा मुद्रण व्यवसायमा समेत सक्रिय थिए ।
यसैगरि कोरोना संक्रमणका कारण सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनजना पुरुष, मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा दुई पुरुष र एक महिला, विराटनगरकै नोबेल शिक्षण अस्पतालमा एक महिला र एक पुरुष गरी दुईजना, विराट अस्पतालमा एकजना र न्युरो अस्पतालमा एककोे मृत्यु भएको छ ।
प्रतिष्ठानको आइसोलेसनमा उपचाररत झापाको विर्तामोड–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै सुनसरीको इटहरी–२ का ५८ वर्षीय पुरुषको समेत मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीकै बराहक्षेत्र–११ की ३५ वर्षीया महिलाको, यता विराट मेडिकल कलेजमा विराटनगर–११ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । सुनसरीको दुहवी–११ का ३८ वर्षीय पुरुषको सोमबार विहान साढे ५ बजेतिर मृत्यु भएको छ । बैशाख १९ गते विराटको आइसोलेसनमा भर्ना गरिएका उनको मृत्यु भएको जनाइएको छ ।
विराटनगरको न्युरो अस्पतालमा विराटनगर महानगरपालिका–११ की ६७ वर्षीया महिलाको बिहान सोमबार विहान मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएकी उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो । त्यस्तै नोबेलमा सिरहाको भवानीपुर–४ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा सोमबार बिहान नोबेलको आइसोलेसनमा ती पुरुषको मृत्यु भएको जनाइएको छ ।