

विराटनगर । सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन् । सीमावर्ती क्षेत्रबाट आवत जावत बढेपछि प्रदेश १ को सामाजिक विकास मन्त्री राईले आफै स्थलगत अनुगमनमा निस्कदै सुरक्षाकर्मीलाई निर्देशन दिएकी हुन ।
भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेको छ । भारतमा कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएपछि सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाईएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्वास्थ्य परीक्षण गर्न समेत निर्देशन दिईन ।
‘दैनिक हजारौंको संख्यामा प्रवेश गरेको पाईएको छ, यसलाई तुरुन्त नियन्त्रण होस् ।’ मुख्य नाकाबाट भन्दा चोर वाटो प्रयोग गर्नेहरुलाई नियन्त्रण गर्न निर्देश गर्दै उनले भनिन्, ‘मुख्य नाकाबाट मात्र आवाज–जावतको व्यवस्था मिलाउनुहोस् ।’ सशस्त्र प्रहरी वलका एसपी तिर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको बताए । उनले शंकास्पदहरुको चेकजाँच गरि सम्बन्धित निकायमा जानकारी दिने गरेको मन्त्री राइलाई बताए । पौडेलले खुल्ला सीमाका कारण आवत–जावतमा कडाई गर्न समस्या भएको समेत उल्लेख गरे ।