

विराटनगर । आज विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौ संस्करण समाप्त हुदैछ । कोरोना संक्रमणको जोखिमका बीचमा निक्कै चुनौतीपूर्ण मानिएको गोल्डकपको उपाधिका लागि भारतको पंजाव पुलिस र नेपालको सशस्त्र प्रहरीको एपीएफको बीचमा भीडन्त हुदैछ । साँझ सम्पन्न हुने खेलले उपाधिको छिनोफानो लगाउने छ ।
कोरोना संक्रमणको बढ्दो जोखिम, स्तरिय फुटबल टीमलाई प्रतियोगितामा सहभागी गराउन नसक्नु र हतार हतारमा प्रतियोगिताको आयोजना गर्नु जस्ता आलोचना खेपेको आयोजक समितिले भने गोल्डकप सफल भएको दावी गर्दै आएको छ । तर आयोजक समितिका संयोजक मनोजबिक्रम शाह भने बिषम् परिस्थितिमा समेत गोल्डकपको आयोजना गर्नु आफैमा चुनौतीपूर्ण रहेको र त्यो चुनौतीको अन्त्य भएको बताउँछन् ।
उपत्यका बाहिर पहिलोपल्ट फ्ल्डलाइटको ब्यवस्थाका साथ आयोजना गरिएको फुटबल प्रतियोगिताले विराटनगरलाई चलायमान बनाएको आयोजकको भनाई छ । ‘यो संस्करणमा हामीले आर्थिक पक्षलाई महत्व दिएनौ । थोरै दर्शक भएपनि फुटबललाई कुशलतापूर्वक सञ्चालन गर्यौ । विराटनगरबासी र आम फुटबलप्रेमीले हामीलाई साथ दिनुभयो ।’ संयोजक शाहले विराटपथलाई भने, ‘कोरोनाको उच्च जोखिममा पनि उच्च स्वास्थ्य सावधानी अपनाएर हामीले प्रतियोगिता सञ्चालन गर्यौ । हामी अहिले पनि रंगशाला आएर फुटबल हेर्न आग्रह गर्दैनौ । सकेसम्म घर मै बसेर हेर्न अनुरोध गर्दछौ ।’
कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा पनि शहिद रंगशालामा दर्शकक उपस्थिति भने उस्तै रहेको थियो । ‘प्रतियोगिताको तयारी गर्दा यो हिसाबको कोरोनाको आंतक थिएन । हामीले हरेक समयलाई ख्याल गर्दै ब्यवस्थापन गर्दै लग्यौ । बिषम् परिस्थिति भए बिना दर्शक समेत खेल सञ्चालन गरेर प्रतियोगितालाई जिबन्त दिन्थ्यौ ।’संयोजक शाहले थपे, ‘यो मैले मात्र श्रेय लिने बिषय होइन, गोल्डकप ट्रस्ट, ट्रस्टका पदाधिकारी, बिभिन्न उपसमिति र खासगरि दर्शकको आत्मियता हो ।’
शनिबार हुने फाइनल खेलमा समेत आयोजकले सीमित मात्र टिकट बिक्री गरेको जनाएको छ । आयोजकले थोरै दर्शकहरुको सहभागिता रहोस् भनेर सीमित टिकट बिक्री गरेको जनाएको छ । आयोजकका अनुसार प्रत्यक्ष रंगशालामा आएर खेल हेर्ने भन्दा बिभिन्न डिजिटल माध्यमबाट खेल हेर्नेको संख्या उल्लेखय रहेको छ । आयोजकले हरेक दिन खेल हेर्न आउने दर्शकलाई निशुल्क सेनिटाइजर र माक्स वितरण गर्दै आएको छ । घर मै दर्शकलाई फुटबल हेर्नका लागि ८ वटा टेलिभिजन च्यानल र १० वटा अनलाइन पोर्टल मार्फत प्रत्यक्ष प्रसारण हुदै आएको छ ।