चट्याङबाट २ जनाको मृत्यु
विराटनगर । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण हिजोबाट मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का धेरै पहाडी जिल्लामा हावाहुरी, चट्याङ र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । आज देशैभरमा सामान्य र आंशिकरुपमा बादल लागेको समेत महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भूभागहरुमा दिउँसो आंशिक पानी पर्ने जनाएको छ । शनिबार दिउँसो भने प्रदेश १ को तराईका केही जिल्लाहरुमा हावाहुरी, चट्याङ र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । हावा हुरीका साथै चट्याङ पर्न सक्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेतसमेत गराएको छ ।
चट्याङबाट २ जनाको मृत्यु
भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाँउपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहिता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई रहेका छन् । बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर टाउकोदेखि घाँटी सम्म जलेर अचेत भएकी थिइन् । नको उपचारको लागि अस्पताल लैजाने तयारी हुँदा हुदै घरैमा मृत्यु भएको थियो ।
त्यसैगरि राईको भने चट्याङ लागेर बेहोस भई घाईते भएपछि उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।