विराटनगर । बर्ष कै अन्तिम दिन, चैत्र ३१ गते मंगलबार, दिउँसोको चर्को घाम । विराटनगरको बरगाछी आसपास क्षेत्रमा मेची अञ्चलको नम्बर प्लेट भएको मोटरसाईकल हुईकिदै थियो । भीडभाड, सवारी साधनको बाक्लो आवतजावतका बीचमा त्यो मोटरसाइकल बरगाछी हुँदै उत्तरतर्फ लाग्यो । चालकको शिरमा हेलमेट थियो । मोटरसाइकलमा पछाडी सवार ब्याक्तिको निलो रंगको टोपी लगाएका थिए । मन्द गतिमा गुडिरहेको मोटरसाइकल पछि बस्ने ब्याक्ति वरपरका दृश्यलाई चनाखोपूर्वक नियालिरहेका थिए ।
हातमा दुईवटा मोवाइल, मुखमा माक्स, कालो चस्मा अनि कम्बरमा पेस्तोल जस्तै देखिने बस्तु बोकेर हिडेका ती ब्याक्ति सरासर विराटनगर विमानस्थल तर्फ जाने बाटो तर्फ लागे । सेतो हाफप्यान्ट, पहिलो रंगको टिसर्ट लगाएका ती ब्याक्ति केही समय उतैतिर हराए ।
……………….
दिउँसोको २ बजेको थियो । उही मोटरसाइकलमा ती दुवै ब्याक्ति फेरि त्यहि बाटो हुँदै फर्किए । उनी फर्कदा अनुहार ठ्म्याउन असहज भएपनि उनी कतै चिनेको जस्तो देखिए । हामीले उनलाई रोक्यौ । चालकले सहजै मोटरसाइकल रोक्यो । आम सर्वसाधारण जस्तै यात्रामा निस्किएका ती ब्याक्ति अरु कोही नभएर मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्का थिए । उनी न्यू सृष्टि दैनिकको एक कार्यक्रममा सहभागी भएर फर्के थिए ।
विराटपथलाई उनसँग केही कुरा गर्ने मौका पायो । उनी जिल्ला प्रहरी कार्यालय मोरङबाट विहान १० बजे निस्केका रहेछन् । ‘म कहिले काही मोटरसाइकल मात्र होइन, साइकलमा पनि निस्कन्छु । शहर आसपासमा रहेका प्रहरीहरुले के कस्तो काम गरिरहेका छन् । यसरी हिड्दा प्रहरीले कस्तो ड्युटी गरिरहेको छ भन्ने अनुगमन पनि हुन्छ ।’ एसपी खड्काले भने, ‘अरुले पनि सहजै चिन्दैनन् । मलाई पनि अनुगमनका लागि सहज हुन्छ ।’
जिल्ला प्रहरी प्रमुखलाई सरकारी गाडी, अंगरक्षक सहित ५ प्रहरी उपलब्ध हुन्छ । प्रहरीको पोशाक लगाएर गाडीमा हिड्दा प्रहरी प्रमुखलाई प्राय सबैले चिन्ने गर्छन । तर यसरी हिड्दा भने धेरैले चिन्न मुस्किल पर्छ । एसपी खड्काले आफु विहान बेलुका कहिले साइकलमा, कहिले मोटरसाइकलमा हिड्ने गरेको बताए । ‘यो जिल्लाको मुख्य सुरक्षा चुनौत ीभने खुल्ला सीमाना हो ।’ उनले थपे, ‘सीमा क्षेत्रमा धेरै पटक रातीको समयमा समेत मोटरसाइलकमा अनुगमन गरेको छु ।’
खड्का जिल्ला प्रहरी प्रमुख भएर मोरङ आएको १० महिना बितिसकेको छ । अब उनको यहाँको बसाँई भनेको दुई महिनाको मात्र हो । बाँकी समयपनि उपलब्धिपूर्ण होस् भन्ने उनको बुझाई छ । ‘१० महिनाको अवधिमा मैले सट्टेबाजी, मिटरब्याजबाट गरिने ठगी, प्रतिबन्धित औषध गर्ने गिरोहको जालो तोड्न सफल भए ।’ खड्काले आफ्नो कार्य समिक्षा गर्दै भने,‘उपत्यका र मोरङ जिल्लाको सुरक्षा चुनौती प्राय उस्तै हो । अझ यहाँ त खुल्ला सीमाना छ । यो अबस्थमा पनि अघिल्लो बर्ष भन्दा ५८ प्रतिशतले राजश्व संकलन बृद्धि भएको छ ।’
पछिल्लो समय बढ्दै गएका सूचना प्रविधिको प्रयोगसँगै समाजमा देखिएको बिकृतिप्रति सचेत हुनुपर्ने उनको भनाई छ । युवावर्गमा लागूऔषधको प्रयोग, यौनजन्य अपराधले बढवा पाउँदा अभिभावक सचेत हुनुपर्ने खड्काले बताए । पछिल्लो समय आर्थिक अपराध मुख्य चुनौती रहेको बताउँदै उनले भने, ‘आर्थिक कारणले उत्पन्न हुने अपराध प्रति हामी सबै सजग हुन जरुरी छ ।’