

विराटनगर । घरायसी विवादमा भएको झडपमा परेर विराटनगरमा एक पुरुषको हत्या भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर – ८ का अन्दाजी ५४ बर्षिय बिको सहनीको हत्या भएको हो ।
उक्त घटना शनिबार राती १० बजेको भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकको टाउकोको पछिल्लो भागमा चोट रहेको छ । घटना भएलगतै मृतकका माईलो छोरा २५ बर्षिय रवि सहनी फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एंव प्रवक्ता मानबहादुर राईले घटनाबारे कानुनी प्रक्रिया शुरु गरिएको बताए ।
स्थानीयबासीका अनुसार घरायसी विवादले उग्र रुप लिएको थियो । माईलो छोरा रविको प्रहारबाट गम्भीर घाइते भएपछि सहनीलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थिए । डिएसपी राईले शवको बाहिरी प्रकृति हेर्दा हतियार प्रयोग भएको नदेखिएपनि पोष्टमार्डम पश्चात घटनाबारे बिस्तृत भन्न सकिने बताए ।