विराटनगर । पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेको छ । प्रदेश १ मा शनिबार २१ जना नयाँ कोरोना संक्रमित थपिदा विराटनगरमा ६ जना नयाँ संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेका छन् । मोरङको विराटनगरमा ६, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीय तह नखुलेका एक–एक जनामा संक्रमण भेटिएको छ । त्यस्तै झापाको दमकमा ४, विर्तामोड र भद्रपुरमा एक–एक, सुनसरीको धरानमा २, इटहरी र दुहवीमा एक–एक र प्रदेश १ बाहिरका एकजनामा संक्रमण देखिएको छ । प्रदेश १ मा हालसम्ममा ३० हजार ४३८ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा शनिबार एकसय ९५ जनाको पीसीआर परीक्षण गर्दा सात महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म दुई लाख ३२ हजार नौसय ५३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।