

विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिमले सुखद शुरुवात दिलाएको छ । बिहिबारको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर महानगर ११ ले युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गर्दै दोस्रो चरणमा समेत प्रवेश गरेको छ ।
प्रतिष्पर्धापूर्ण खेलमा विराटनगरका लागि प्रकाश बुढाथोकी नायक बने । उनले खेलको सुरुवातमा नै अग्रता दिलाए । खेल सुरू भएको ८ औं मिनेटमा प्रकाशले करिब ३० यार्डदेखि प्रहार गरेको बलले जाली चुमेको थियो । ८ मिनेटमा गोल खाएपछि दबावमा परेको पाहुना टोली सिक्किमले खेल सुरू भएको ८ मिनेट बित्न नपाउँदै गोल गरि खेल बराबरीमा ल्यायो ।
। घरेलु टोलीको रक्षापंक्तिले कमजोर खेल प्रर्दशन गर्दा खेलको १५ मिनेटमा सिक्किमका आशिष देवानले सहजीकरण गरेको क्रस पासलाई सदुपयोग गर्दै साङगे छोपेन भुटियाले उत्कृष्ट गोल गरे । खेलको २० मिनेटमा विराटनगरका सुनिल खड्काको वान भर्सेस वानको प्रहार सिक्किमका गोल किपर अवजित रोयले उत्कृष्ट बचाउ गरिदिए ।
सिक्किमका भुवन बस्नेतले खेलको २४ मिनेटमा डिबक्स बाहिरदेखि प्रहार गरेको सशत्त प्रहार बारियो । खेलको ४१ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले निकालिदिएको क्रस पास कप्तान दिपक राईले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो ।
पहिलो हाफसम्म १ – १ गोलको बराबारी भएको खेलमा दोस्रो हाफदेखि विराटनगर आक्रमक भएर मैदानमा उत्रियो । दोस्रो हाफको ५३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले जालि चुम्यो ।
खेल सुरु भएको ६५ औं मिनेटका सिक्किमका सोनम भुटियाले डिबिक्स बाहिरदेखि गरेको उत्कृष्ट प्रहार बारमा लागेर बाहिरियो । घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले पाएको गोल गर्ने थुप्रै अवसर खेर फाल्यो ।
खेलको म्यान अफ द म्याच विराटनगरका प्रकाश बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको शुक्रबारको खेल भारतको पंजाब पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।