विराटनगर । चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको सरगर्मी बढेर गएको छ । देशब्यापी चुनावी चहलपहल बढेसँगै नेपाल पत्रकार महासंघ मोरङमा बुधबार निर्वाचन कार्यालयको स्थापना गरिएको छ ।
नेपाल पत्रकार महासंघ मोरङका पूर्व सभापति तथा अग्रज पत्रकार शिवबहादुर कार्कीले निर्वाचन कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम पश्चात आयोजित छलफल कार्यक्रममा सहभागी हुँदै पत्रकारहरुले यो पटकदेखि नयाँ अभ्यास अनुसार निर्वाचन हुन लागेको भन्दै सहजताका लागि समितिलाई सुझाएका थिए । यो पटकदेखि महासंघका साधारण सदस्यले केन्द्रीय पदाधिकारीका उम्मेदारदेखि प्रदेश र जिल्लाका पदाधिकारीका उम्मेदारलाई मतदान गर्न पाउनेछन् ।
यस अघिका निर्वाचनमा भने जिल्लाबाट चुनिएका पार्षदले मात्र केन्द्र र प्रदेशका उम्मेदवारलाई मत दिने ब्यवस्था रहेको थियो । निर्वाचन समितिका संयोजक दीपक दाहालले निर्वाचनलाई सहजपूर्वक सम्पन्न समिति चनाखो रहेको भन्दै १० स्थानबाट एकै पटक मत खसाल्ने ब्यवस्था गर्न लागिएको बताए ।
पत्रकार महासंघ मोरङमा दुईसय ४ मतदाता रहेका छन् । निर्वाचनका लागि चैत्र २२ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।