विराटनगर । रोलिङ्ग नेक्ससले आफ्ना तीनवटा एप्लिकेशन सार्वजनिक गरेको छ । बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले रोलिङ्ग नेक्सस डटकम सहित तीनवटा एप सार्वजनिक गरेका थिए ।
रोलिङ्ग प्लान प्रालिद्धारा सञ्चालित रोलिङ्ग नेक्सस, रोलिङ्ग कर्मशिल स्वदेश र रोलिङ्ग कर्मशिल विदेश एप सार्वजनिक गरिएको थियो । प्रालिले रोलिङ्ग नेक्सस डटकम नेपाल कै पहिलो ब्यवसायिक सामाजिक सञ्जाल दावी गरेको छ । उद्यमशिलता, बजार ब्यवस्थापन लगायत रोजगारी र अवसरको खोजी, टेण्डरको खोजी र ब्यवस्थापन, नेपाली घरेलु उद्यमी प्रर्वद्धन लगायतका बिषयमा सो एप र साइट उपयोगी हुने बिश्वास प्रालिको रहेको छ ।
कार्यक्रममा बोल्दै रोलिङ्ग नेक्ससका अध्यक्ष अनुप जंगमले रोजगारी र उद्यमशीलताको संम्भावना र अवसरका लागि आफुहरुको अभियान फलदायी हुने बिशवास ब्यक्त गरे । उनले एपमा सातवटा समूह रहेको बताउँदै १८ बर्षदेखि ६५ बर्ष उमेरका समूहमा पर्ने करिब दुई करोड श्रम शक्तिलाई प्रभावकारी हुने बताए ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले रोलिङ्ग नेक्ससले थालेको अभियान प्रभावकारी ढंगबाट सञ्चालन भए सबैलाई लाभ हुने बताए । उनले पछिल्लो समय सूचना प्रवधिको बिकास बढेको बताउँदै डिजिटल प्रविधिको युगले परिवर्तन संम्भव हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रोलिङ्ग नेक्ससलाई सफलताको शुभकामना दिएका थिए । १७ बर्ष अघि स्थापना भएको रोलिङ्ग नेक्ससले पछिल्लो ६ महिना लामो सफल परिक्षण पश्चात एप सार्वजनिक गरेको जनाएको छ ।
केही दिन अघि मात्र रोलिङ्ग नेक्ससले काठमाण्डौमा समेत सो एपहरु सार्वजनिक गरिएको थियो । रोलिङ्ग नेक्ससले सातै प्रदेशमा एपहरु सार्वजनिक गर्ने जनाएको छ । एपमा चार ईको अवधारणा अघि सारिएको छ । जस अन्तरगत रोजगारीको सृजना, उद्यमशीलता, शशक्तिकरण र संलग्नता रहेको छ ।