सत्यतथ्य सार्वजनिक नगरे आन्दोलन गर्ने
विराटनगर । शनिबार दिउँसो विराटनगरको आयल निगम पूर्वतर्फको एक सडक किनारमा मानिसहरुको बाक्लो भीड थियो । पुरानो जस्ताले छाएको पुरानो घरमा शुक्रबार मृत फेला परेका कान्छा भनिने नितेश राईका आफन्त र छरछिमेकीहरु शोकमा थिए । मृतककी बयोबृद्ध आमा तुलामाया राई आँखा भरि आँशु झार्दै छोराको मृत्युमा भावविब्हल थिइन् ।
कुनै बेला आक्रोशमा, कुनै बेला बेदनामा देखिने तुलामाया छोराको नियोजित तवरले हत्या गरेको आरोप लगाउँदै थिइन् । ‘मेरो पैसा आउँदैछ आमा, अब म घर बनाउँछु भन्थ्यो ।’ आमा तुलामायाले विराटपथसँग भनिन्, ‘नानी, मेरो छोरालाई त्यहि पैसाका कारणले मारे । मेरो छोरा आफै मरो भन्नु त पाप नै हो । त्यसलाई कुटेर नै मारे ।’
मृतकको आमा मात्र होइन्, उनका छरछिमेकीले पनि यो प्रकरणलाई सामान्य रुपमा लिएका छैनन् । मृतक आफैका बक्सिङ पूर्व खेलाडी भएका कारण नितेशलाई संगठित रुपमा हत्या गरेको आरोप लगाउँछन् । स्थानीयबासी केशव आचार्यले यो मृत्य आत्महत्या नभएर हत्या नै भएको बताउँछन् । उनले विराटपथसँग भने, ‘जीउ भरि नीलडाम छ । नाक भाँच्चिएको छ । हातमा माटो नै माटो लागेको छ । यो कसरी आत्महत्या हुन्छ ।’
अस्वाभाविक मृत्यु भएको कारण परिवारले मृतकको शव अहिलेसम्म बुझेका छैनन् । मृतकको शव अहिलेपनि कोशी अस्पतालको शवगृहमा रहेको छ । उनीहरुले प्रहरी प्रशासनले हत्यामा संलग्न भएकाहरु सार्वजनिक नगरेसम्म शव नबुझ्ने बताएका छन् ।
परिवार थप समस्यामा
नितेशको मृत्यु भएपछि उनीहरु थप समस्यामा परेका छन् । सामान्य परिवारका उनीहरुलाई हातमुख जोर्न नै समस्या परेको छ । ‘जे जस्तै भएपनि घरपरिवार चलाएको छ । दुई चार पैसा भएपनि ल्याउथ्यो । घरपरिवार चलाएको थियो । तर अब हाम्रो परिवारको बिचल्ली भयो ।’ आमा तुलामायाले भनिन् ।
मृतकको पाँच बर्षको छोरा र श्रीमति छन् । उनी बृद्ध बुवा, आमा, पत्नी र छोराका एक मात्र साहरा थिए । उनको श्रीमति नजिकैको मोर्डनएरा बोडिङ स्कुलमा गार्डको काम गर्छिन । आमाले भने, घर मै सानो किराना पसल सञ्चालन गर्थिन । भावविव्हल श्रीमति लक्ष्मीले रुदैं भनिन्, ‘अब मेरो साहरा छैन । यो मेरो अबोध छोराले बुवा खोजे मैले कसरी देखाउँनु ।’
युवाहरुको चेतावनी
नितेशको अस्वाभाविक मृत्युका कारण आक्रोशित बनेका स्थानीय युवाहरुले हत्यामा संलग्न भएका दोषीलाई तत्काल सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । विराटनगरको पुष्पलालल चोकमा भेला भएका युवाहरुले मृत्यु भएको ४८ घण्टा बित्दा समेत अपराधी पत्ता लगाउन नसक्नु प्रहरी प्रशासनको कमजोरी भएको आरोप लगाए ।
युवा अगुवा विमल भट्टराईले यो घटनालाई प्रशासनले गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै घटना भएको ७२ घण्टा भित्र दोषी सार्वजनिक नभए आन्दोलन गर्ने बताए । ‘कान्छा हामी सबैका लोकप्रिय थिए । परिवार शोकमा डुबेको छ । शव अहिले सम्म परिवारले बुझेको छैन ।’ भट्टराईले भने, ‘अहिले सम्म हामीले प्रशासनलाई अनुसन्धानका लागि सहयोग गरेका नै छौ । हाम्रो यति मात्र माग छ, दोषी तत्कालै पक्राउ परोस् ।’
नितेशसँग नजिक रहेका नेपाल तरुण दल विराटनगरका नगर सदस्य रिर्चड गौतम दोषी पत्ता लगाउन जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए । उनले जिल्ला प्रशासन कार्यालय घेराउदेखि लिएर सडक अबरुद्ध सम्म पार्न सकिने उल्लेख गरे ।
हत्या हुन सक्ने
विराटनगरका युवाहरुमा कान्छा उपनामले चिनिने नितेशको मृत्यु प्रकरणमा हत्या भएको हुन सक्ने कोणबाट प्रहरीले अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले नितेश राईको मृत्युको बिषयमा प्रहरीले बिभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी दिए ।
३८ बर्षिय नितेश बिहिबार साँझ घरबाट साथीहरुसँग भेटघाट गर्न भनि हिडेका थिए । उनको शव विराटनगर महानगरपालिका – १९ धनपुरास्थित खेतको रुखमा झुण्डिएको अबस्थामा शुक्रबार फेला परेको थियो । विराटनगर – ३ आयल निगम छेउ घर भएका राई बिहिबार साँझ ६ : ३० बजे स्कुटर लिएर धनपुरामा साथीहरुसँग भेट्न जान्छु हिडेका थिए ।
एसपी खड्काले राईको मृत्यु प्रकरणको सत्यतथ्य चाँडै सार्वजनिक हुने समेत बताए । उनले प्रहरीले अहिले प्राविधिक लगायत अन्य सबै तर्फबाट अनुसन्धान भएको जनाउँदै १ – २ दिनमा पोष्टमार्डमको रिर्पोट आएपछि मृत्युको कारण प्रष्ट हुने जनाए । ‘हामीलाई डाक्टरले १ – २ दिनमा पोष्टमार्डमको रिर्पोट आउने बताएका छन् । त्यसबाट मृत्युको कारण खुल्नेछ ।’ उनले भने, ‘भिसेरा रिर्पोट आउन भने केही दिन लाग्ला त्यसले समेत घटनाको अनुसन्धान गर्न सहज हुन्छ ।’ खड्काका अनुसार सो घटनाको अनुसन्धान गर्न डिएसपी मन्जिल मुकारुङको नेतृत्वमा टोली खटिएको छ ।
शुक्रबार राईको शव धनपुराको एक खेतको बीच भागमा रहेको पिपलको रुखमा झुण्डिएको अबस्थामा फेला परेको थिए । सडकखण्ड भन्दा करिब एक किलोमिटर भित्र एकान्त स्थानमा रहेको पिपलको रुखमा प्लाटिकको डोरीले झुण्डिएको अबस्थामा फेला परेको थियो ।