प्रहरीले केहीलाई सोधपुछ गरि छाड्यो
विराटनगर । विराटनगरका युवाहरुमा कान्छा उपनामले चिनिने नितेश राईको मृत्यु प्रकरणमा हत्या भएको हुन सक्ने कोणबाट प्रहरीले अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले नितेश राईको मृत्युको बिषयमा प्रहरीले बिभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी दिए ।
३८ बर्षिय नितेश बिहिबार साँझ घरबाट साथीहरुसँग भेटघाट गर्न भनि हिडेका थिए । उनको शव विराटनगर महानगरपालिका – १९ धनपुरास्थित खेतको रुखमा झुण्डिएको अबस्थामा शुक्रबार फेला परेको थियो । विराटनगर ३ आयल निगम छेउ घर भएका राई बिहिबार साँझ ६ : ३० बजे स्कुटर लिएर धनपुरामा साथीहरुसँग भेट्न जान्छु हिडेका थिए ।
‘हामीले बिभिन्न संभावित सबै कोणबाट अनुसन्धान शुरुवात गरेका छौ । उनका साथीभाई, खानपान, लेनदेन लगायत अन्य बिभिन्न बिषयलाई केन्द्रीत रहेर अनुसन्धान भइरहेको छ ।’ एसपी खड्काले विराटपथलाई भने, ‘यसबिचमा हामीले १५ – १६ जनासँग सोधपुछ गरि छाडेका छौ र अन्य केहीलाई पनि निगरानीमा राखेका छौ ।’
एसपी खड्काले राईको मृत्यु प्रकरणको सत्यतथ्य चाँडै सार्वजनिक हुने समेत बताए । उनले प्रहरीले अहिले प्राविधिक लगायत अन्य सबै तर्फबाट अनुसन्धान भएको जनाउँदै १ – २ दिनमा पोष्टमार्डमको रिर्पोट आएपछि मृत्युको कारण प्रष्ट हुने जनाए । ‘हामीलाई डाक्टरले १ – २ दिनमा पोष्टमार्डमको रिर्पोट आउने बताएका छन् । त्यसबाट मृत्युको कारण खुल्नेछ ।’ उनले भने, ‘भिसेरा रिर्पोट आउन भने केही दिन लाग्ला त्यसले समेत घटनाको अनुसन्धान गर्न सहज हुन्छ ।’ खड्काका अनुसार सो घटनाको अनुसन्धान गर्न डिएसपी मन्जिल मुकारुङको नेतृत्वमा टोली खटिएको छ ।
शुक्रबार राईको शव धनपुराको एक खेतको बीच भागमा रहेको पिपलको रुखमा झुण्डिएको अबस्थामा फेला परेको थिए । सडकखण्ड भन्दा करिब एक किलोमिटर भित्र एकान्त स्थानमा रहेको पिपलको रुखमा प्लाटिकको डोरीले झुण्डिएको अबस्थामा फेला परेको थियो । घटनास्थल पुगेका प्रत्यक्षदर्शी स्थानीय युवा विमल भट्टराईका अनुसार मृतकको छातीमा प्रष्ट रुपमा देखिने गरि निलडाम रहेको बताए । भट्टराईले राईको नाक र मुखमा समेत चोट रहेको तथा नाकबाट रगत बगेको विराटपथलाई जानकारी दिए ।