

विराटनगर । विराटनगरमा युवाहरुमा कान्छा उपनामले चिनिने नितेश राई मृत अबस्थामा फेला परेका छन् । ३८ बर्षिय नितेश बिहिबार साँझ घरबाट साथीहरुसँग भेटघाट गर्न भनि हिडेका थिए । उनको शव विराटनगर महानगरपालिका – १९ धनपुरास्थित खेतको एक रुखमा झुण्डिएको अबस्थामा शुक्रबार फेला परेको थियो । उनी बक्सिङका पूर्व खेलाडी समेत हुन ।
विराटनगर ३ आयल निगम छेउ घर भएका राई बिहिबार साँझ ६ : ३० बजे स्कुटर लिएर धनपुरामा साथीहरुसँग भेट्न जान्छु हिडेका थिए । ‘कहिले काँही साथीहरुकोमा जाँदा घर आउँदैनथ्यो । बिहिबार पनि हामीलाई त्यस्तै लागेको थियो’ राईका जेठा दाजु लाल बहादुरले विराटपथलाई भने, ‘तर शुक्रबार भाईको मृत्युको खबर हामीले पत्याउन पनि सकेनौ ।’
मृतक राईलाई उनका पाठक थर भएका एक साथीले साँझ ७ बजे मोवाइलमा सम्पर्क गरेका थिए । आफन्तका अनुसार उनलाई समेत नितेशले आफु धनपुरामा भएको र साथीहरुसँग रहेको जानकारी दिएका थिए ।
शुक्रबार राईको शव धनपुराको एक खेतको बीच भागमा रहेको पिपलको रुखमा झुण्डिएको अबस्थामा फेला परेको थिए । सडकखण्ड भन्दा करिब एक किलोमिटर भित्र एकान्त स्थानमा रहेको पिपलको रुखमा प्लाटिकको डोरीले झुण्डिएको अबस्थामा फेला परेको थियो । घटनास्थल पुगेका प्रत्यक्षदर्शी स्थानीय युवा विमल भट्टराईका अनुसार मृतकको छातीमा प्रष्ट रुपमा देखिने गरि निलडाम रहेको बताए । भट्टराईले राईको नाक र मुखमा समेत चोट रहेको तथा नाकबाट रगत बगेको विराटपथलाई जानकारी दिए ।
प्रहरीले पनि घटनालाई संवेदनशिल रुपमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । मोरङ प्रहरीका डिएसपी तथा प्रवक्ता मानवहादुर राईले घटना शंकास्पद रहेको उल्लेख गरे । उनले विराटपथलाई भने, ‘हामी अनुसन्धानको क्रममा छौ । घटनाको बिषयलाई लिएर हामीले गम्भीरतापूर्वक अनुसन्धान शुरु गरेका छौ । पीडित पक्षलाई न्याय दिन हाम्रो प्रयास रहन्छ ।’
घटनाको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय विराटनगरको अपराध अनुसन्धान टिमले समेत अनुसन्धान प्रक्रिया शुरु गरेको छ । डिएसपी राईले घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म कसैलाई पक्राउ नगरेको समेत जानकारी दिए ।
यता मृतकका दाजु लाल बहादुरले भाईले हत्या गरेर झुण्डाएर बताए । ‘हातमा माटो नै माटो छ । उसले आत्महत्या गर्नुपर्ने त्यस्तो केही कारण थिएन’ लालबहादुरले भने, ‘शरिर भरि निलडाम छ । नाक भाँच्चिएको छ । दाँत भाँच्चिएको छ । यो योजना बनाएर मारेको हो ।’
पारिवारिक श्रोतका अनुसार नितेशले राती ९ बजे धनपुरा रहेको दिपचन ऋषिदेवको घरमा बिहिबार राति ९ बजे खाना खाएका थिए । उनको श्रीमति देवन्सीले राई सहित करिब ५ – ६ युवाहरुले त्यहि खाना खाएका थिए । राईले प्रयोग गरेको स्कुटर समेत प्रहरीले शुक्रबार ऋषिदेवको घरबाट नियन्त्रणमा लिएको थियो ।
यता प्रहरीले राईको शवलाई पोष्टमार्डमका लागि कोशी अस्पताल विराटनगर पठाएको छ । यो समाचार तयार पर्दा सम्म शवको पोष्टमार्डम भएपनि आफन्त शव बुझ्न मानेका छैनन् । उनीहरुले घटनाको तथ्यसत्य बाहिर नआउन्जेल सम्म शव नबुझ्ने बताएका छन् ।
- मृतक राईको फाईल तस्वीर