विराटनगर । मोरङको उर्लाबारी ५ निवासी ३१ बर्षिय प्रविन बास्तोला मृत्यु प्रकरणमा प्रहरीले कर्तब्य ज्यान सम्बन्धी मुद्धा अघि बढाएको छ । मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै किटानी जाहेरी परेका ६ जनाका बिरुद्धमा कर्तब्य ज्यान सम्बन्धी मुद्धाको प्रक्रिया अघि बढेको जनाएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घटनाका बिषयमा जानकारी दिदै विराटपथसँग भने,‘मुद्धाका प्रक्रिया अघि बढेको छ । आरोपित २ जना प्रहरीको नियन्त्रणमा नै छन् । बाँकी ४ जनालाई पनि प्रहरीले पक्राउ गरेर कानुनी दायरा ल्याउँछ ।’
एसपी खड्काले ६ जना बिरुद्ध किटानी जाहेरी परेको उल्लेख गर्दै भने, ‘एक दुई जना समातेकै छौ । जाहेरी ६ जनाका बिरुद्ध परेको हो । उनीहरुलाई पनि बिस्तारै समातेर लान्छौ ।’
प्रविन बाँस्तोला मृत्यु प्रकरणमा धेरै तर्फबाट जिज्ञासा र आशंका उब्जिएपछि प्रहरीले आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले मृत्युको कारण ‘भायोलेन्ट एसपाइसिया’ मध्येको एक हुन सक्ने औल्याएको पत्र प्रहरीलाई पठाएको थियो । एसपी खड्काले ‘भायोलेन्ट एसपाइसिया’ भन्नाले दुख्नु, घाँटी थिच्दाँ, खानेकुरा अड्केर, सुत्ने पोजिजिन नमिलेर मृत्यु हुनु लगाएका भएको प्रष्ट पारे ।
एसपी खड्काले घटनाको अनुसन्धान र प्रहरीले हालसम्म प्राप्त गरेका उपलब्धिबारे जानकारी गराउँदै प्रहरी पीडित कै पक्षमा रहेका उल्लेख गरे । उनले मिसिलमा भुलवश मृतकको ठाउँमा अरुको तस्बिर परेकै आधारमा फितलो अनुसन्धान भएको वा प्रहरीले घटनालाई कमजोर बनाएको भन्न नमिल्ने बताए ।
बाँस्तोलाको मृत्यु शंकास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए । पक्राउ परेका उनी माघ २ गते सरकारी वकिल कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा छुटेका थिए ।