आयोजक समितिको संयोजकमा शाह
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिको संयोजकमा युवा ब्यवसायी तथा सामाजिक अभियन्ता मनोजबिक्रम शाह चयन भएका छन् । शनिबार विराट गोल्डकप फुटबल ट्रस्टले शाहलाई गोल्डकप आयोजना गर्ने जिम्मेवारी प्रदान गरेको हो । उनी ट्रस्टका सदस्य समेत हुन ।
शाहले गोल्डकप आयोजना गर्ने जिम्मेवारी पाएसँगै यो बर्ष विराट गोल्डकप फुटबल प्रतियोेगिता चैत्र महिनाको अन्तिम साताबाट गर्ने तयारी शुरु गरिएको छ । संयोजक शाहले आयोजक समितिलाई केही दिन भित्रमा नै पूर्णता दिने बताउँदै यस बर्ष रात्रीकालिन फुटबल हुने जानकारी दिए ।
फुटबल प्रतियोगिता तयारीका लागि शनिबार नै काठमाण्डौ पुगेका शाहले विराटपथसँग कुरा गर्दै भने, ‘प्रतियोगितालाई भब्य रुपमा सफल बनाउन अखिल नेपाल फुटबल संघ (एन्फा)सँग छलफल गर्न काठमाण्डौ आएको छु । प्रदेश सरकारले हालै मात्र शहिद रंगशालामा फ्लड लाईट जडान गरिदिएका कारण यो बर्ष रात्रीकालिन फुटबल सञ्चालन हुनेछ ।’
लामो इतिहास बोकेको विराट गोल्डकप फुटबल प्रतियोगिता अघिल्लो बर्ष हुन सकेको थिएन । कोरोना भाइरसको संक्रमणका कारण विराट गोल्डकप प्रतियोगिता रोकिएको थियो ।